काठमाडौं,२९ साउन । नेपाली कांग्रेसको केन्द्रिय कार्यालय आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको छ । पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण सानेपास्थित काँग्रेस केन्द्रिय कार्यालय विगत एक महिनायता आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको हो ।

३४ दिनयता लगातार क्रियाशील सदस्यता वितरणमा भएको धाँधली छानवीन गर्ने आफूहरुको माग अझै सम्बोधन नभएकाले पार्टी केन्द्रिय कार्यालयमा सुरु गरिएको धर्नालाई निरन्तरता दिन बाध्य हुनु परेको नेपाली कांग्रेस बाराका नेता उपेन्द्र यादवले बताए । उनले आफूहरुलाई न्याय नदिएसम्म जिल्ला नफर्कने, धर्ना देखि सडक आन्दोलन सम्म गर्ने चेतावानी दिए ।

उता, ३० दिनयता पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिँदै आएका रौतहट क्षेत्र नम्बर १ का नेता, कार्यकर्ताहरुले पार्टीको विधि र विधान विपरित क्रियाशील सदस्यता वितरण गर्ने काम गरिएकाले त्यसको विरोधमा आफूहरु पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिने कामलाई जारी राख्न बाध्य हुनु परेको बताएका छन् ।

जिल्ला कार्य समिति रौतहटका कोषाध्यक्ष रामश्रीष प्रसाद साहले विधि र विधान विपरित गएर दिइएको क्रियाशील सदस्यता खारेज नभएसम्म आफूहरुको धर्नासहितको आन्दोलनलाई जारी राख्ने बताएका छन ।