सर्लाही,२९ साउन । नेकपा एमालेका नेता सदस्य सुरेन्द्र पाण्डेले एमालेलाई मजबुत बनाएर लैजाने विषयमा छलफल भइरहेको र छिट्टै पार्टी एक ढिक्का हुने बताएका छन् ।

प्रेस चौतारी नेपालले शुक्रबार सर्लाहीको कर्मैयामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पाण्डेले एमाले अहिले नै फुटिसक्यो भनेर मिडियाले हल्ला गरेजस्तो अवस्था पार्टीमा नरहेको स्पष्ट पारे ।

‘पार्टी मिल्नुको विकल्प छैन्,’ उनले भने, ‘ढिलो चाँडोको कुरा मात्र हो । विवाद तत्काल हल नगरे पार्टीलाई क्षतिमात्र गर्छ ।’ एमाले अहिले गम्भीर क्षणमा रहेको उल्लेख गर्दै एकतालाई बचाउन आफूहरु अन्तिम प्रयासमा रहेको उनले बताए । १० बुँदे सम्झौलाई टेकेर अघि बढ्न सके पार्टीभित्र अहिले देखिएको विवाद अन्त्य हुने उनले स्पष्ट पारे ।

उनले केपी शर्मा ओली निर्वाचित अध्यक्ष भएकाले मान्नु पर्ने उल्लेख गर्दै झिनो मतले पराजित चैं केही होइनजस्तो गर्न नहुने बताए । कांग्रेसमा शेरबहादुर देउवा निर्वाचित सभापति भए पनि रामचन्द्र पौडेल पनि महत्वपूर्ण नेताको रुपमा रहेको उदाहरण उनले दिए ।

अर्काे प्रसंगमा पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पाण्डेले बृद्ध भत्ताको प्रसंगमा टिप्पणी गर्दै एमाले नेतृत्वकै सरकारको पालामा भएको भत्ता बृद्धिले सस्तो लोकप्रियता बढाए पनि यसले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।

अब पनि रोजगार मुलक कर्याक्रमहरु नल्याएर वितरणमुखी कार्यक्रम मात्र ल्याए निकट भविष्यमा कर्मचारीले तलवभत्तासमेत खान नपाउने दिन आउने चेतावनी दिँदै यसतर्फ सबै सजग हुनुपर्ने औंल्याए । अहिले देशको व्यापार घाटा उच्च विन्दुमा पुगेकाले यसलाई कम गर्न उत्पादनमुखी कार्यक्रममा जोड दिनुपर्नेमा उनले जोड दिए । वेब टिभी खबर बाट