पार्टी एकताका लागि अन्तिम पर्खाइमा छौं- माधव नेपाल

काठमाडौं,३० साउन। नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाइमा रहेको बताएका छन्। वरिष्ठ नेता नेपालले पार्टी एकताका सबै ढोकाहरु बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने अडान पनि राखे।

शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी एकताका लागि अझै पनि कोसिस गर्ने बताएका हुन्। निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधारमा चल्ने स्थिति हुन्छ भने पार्टी एकताका लागि आफूहरु तयार रहेको उनको भनाइ छ।

‘एकता हाम्रो चाहना हो, इच्छा हो। हाम्रो इच्छा र चाहना विभाजन होइन। तर, एकताको सबै ढोका बन्द भयो भने सम्भावना रहेन भने त्यस्तो अवस्थामा पार्टीको पुनर्गठन गर्ने, पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट हामी पछि हटनु हुँदैन’, नेपालले भने, ‘तर, त्यो अन्तिम उपायमात्रै हुनेछ। अझै पनि कोसिस गरौं। अझै पनि केपीलाई सुधार्ने कोसिस गरौं। केपीले गरेको गलत निर्णय फिर्ता लिने काम हुन्छ भने, निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधार चल्ने स्थिति हुन्छ भने हामी अन्तिम पर्खाइमा रहेका छौं।’

वरिष्ठ नेता नेपालले पार्टी एकताका लागि आफूहरुले सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको पनि स्मरण गरे। उनले संविधानको रक्षाका लागि, प्रतिगमन हुन नदिनका लागि, लोकतन्त्रको रक्षाका लागि आफूहरुले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिनु परेको पनि दोहोर्‍याए।

बुढानिलकण्ठमा युवा संघ नेपालको कमिटी गठन

बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेको जनसंगठन रास्ट्रिय युवा संघ नेपालको समानान्तर कमिटी गठन गरिएको छ। कपन पार्टी प्यालेसमा आयोजना गरिएको भेलाले आकाश श्रेष्ठको नेतृत्वमा ६५ सदस्य कमिटी गठन गरेको छ।

नेकपा एमाले काठमाण्डौको समानान्तर जिल्ला कमिटीका सचिव एवम प्रदेश सभा सदस्य कुसुम कुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा युवा संघ काठमाण्डौको समानान्तर कमिटीका अध्यक्ष गौरीशंकर राणा विशेष अतिथि रहेका थिए।

236207416_368037264695928_7497525204707582391_n (2)

युवा संघ नेपालका केन्द्रीय सदस्य मनोज श्रेष्ठको अध्यक्षतामा भएको भेलामा निरन्जन नेपाल र दिपु बस्नेतले मन्तव्य राखेको भेलाको संचालन रामशरण सापकोटाले गरेका थिए।

युवा संघका केन्द्रीय सदस्य बिष्णु भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि कार्कीले अबको राजनीति युवाको काधमा रहेकोले सभ्य र अनुशासित भएर जनताको काममा लाग्न आग्रह गरेका थिए।

तारकेश्वरमा पनि नेकपा एमालेको समानान्तर नगर कमिटी गठन

तारकेश्वरमा पनि नेकपा एमालेको समानान्तर नगर कमिटी गठन गरिएको छ। तारकेश्वर नगरपालिकामा स्थायी कमिटी सदस्य बेदुराम भुषालको प्रमुख आतिथ्यतामा भएको भेलाले लव बस्नेतको अध्यक्षतामा नगर कमिटी गठन गरेको हो।

236347227_4536743106345313_7826242799243277460_n (2)
नेकपा एमालेकी केन्द्रीय सदस्य तथा काठमाण्डौ इन्चार्ज सावित्रा भुषाल , केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला अध्यक्ष बसन्त मानन्धर लगायतको उपस्थितिमा भएको सो भेलाले नगरपालिकाका ११ वटै वडामा पदाधिकारी तथा सदस्यहरु पनि चयन गरेको थियो ।कपन अनलाइन बाट