बुटवल,३१ साउन । लुम्बिनी प्रदेशका विना विभागीयमन्त्री अजय शाहीले आफूलाई नेकपा एमालेको ह्वीप नलाग्ने बताएका छन्।लुम्बिनी प्रदेशका विना विभागीयमन्त्री शाहीले आफू स्वतन्त्र सांसद भएकाले एमालेको ह्वीप नलाग्ने बताएका हुन्।
एमाले संसदीय दलले स्पष्टीकरण सोधेको चौथो दिन प्रेस विज्ञप्ति जारी गर्दै शाहीले आफू स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित भएको र एमालेको पार्टी सदस्यतासमेत नलिएको उल्लेख गरेका छन्।
एमालेले साउन २८ गते पत्र काटेर तीन दिनभित्र आफैं उपस्थित भई स्पष्टीकरण बुझाउन शाहीलाई निर्देशन दिएको थियो। एमालेले सोधेको स्पष्टीकरणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै शाहीले राजनीतिक दल सम्बन्धी ऐनअनुसार स्वतन्त्र सांसदलाई कुनै पार्टीको ह्वीप नलाग्ने बताएका छन्।
२०७४ को आम निर्वाचनमा एमाले र हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहबीच भएको दुई बुंदे सहमतिमा पनि ‘स्वतन्त्र पहिचानका साथ क्रियाशील हुने’ उल्लेख छ।
शाही साउन २७ गते प्रदेश सभाको विशेष अधिवेशनमा पनि सहभागी थिए। एमालेको संसदीय दलको वैठकले विशेष अधिवेशन बहिष्कार गर्ने निर्णय गरेको थियो। शाही नवलपरासी पश्चिम १ (ख) बाट सूर्य चिह्नबाट चुनाव जितेका थिए।




















