काठमाडौं,३२ साउन । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले संसदबाट बहुमतप्राप्त प्रधानमन्त्री शेरबहादुर देउवालाई हेप्ने काम नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई चेतावनी दिए।

एमालेप्रति संकेत गर्दै सांसद यादवले संसदबाट बहुमत सावित गराएका प्रधानमन्त्री देउवालाई हेप्ने, घोच्नेलाई जनताले माफी नदिने पनि बताए। सोमबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनले आगामी निर्वाचनपछि पनि पाँच वर्ष सरकार चलाउने गरी जनताले म्यान्डेट दिने दाबी गरे।

‘संसदमा बहुमत सावित गरेर भएको प्रधानमन्त्रीलाई परमादेशको प्रधानमन्त्री भनेर हेप्ने, घोच्ने ? त्यस्तालाई जनताले माफी दिने छैनन्। अब यो गठबन्धन सरकार १८ महिनाको मात्रै होइन, आगामी निर्वाचन पछि पनि पाँच वर्षका लागि निर्वाचित भएर आउनेछ। यो हाम्रो दावा हो,’ उनले भने।

सांसद यादवले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत काम गरेर पनि वर्तमान सरकारलाई परमादेशको सरकार भनेर हास्यास्पद तर्क गरिरहेको दाबीसमेत गरे। उनले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल हवाई उद्धार गर्न पनि सरकारलाई सचेत गराए। सरकारले भनेर होइन तत्काल उद्धार गरेर अफगानिस्तानमा रहेका नेपालीको जीवन सुरक्षा गर्नुपर्ने सांसद यादवको भनाइ थियो।