काठमाडौं,१ भाद्र । सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि नेकपा एमाले तरंगित बनेको छ। संसद् अधिवेशन अन्त्यसँगै सरकारले माधवकुमार नेपाललाई दल विभाजन गर्न सहज हुनेगरी अध्यादेश ल्याउने तयारी गरेको आशंका एमाले वृत्त छ। सोमबार राति एक विज्ञप्ति जारी गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने षड्यन्त्र अक्षम्य नहुने चेतावनी पनि दिएका छन्।
एमाले र एमालेको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बाहना र षड्यन्त्र क्षम्य नहुने भन्दै ओलीले सरकारलाई चेतावनी दिएका छन्। यसै विषयमा छलफल गर्न एमाले स्थायी समिति र संसदीय दलको बैठक पनि आज बस्दैछ। बिहान ११ बजे तुलसीलाल स्मृति भवनमा स्थायी कमिटी बैठक र लगत्तै ३ बजे संसदीय दलको बैठक बस्नेछ।
दुवै सदनको चालू अधिवेशन अन्त्य गरेर सरकारले राजनीतिक दल संशोधन अध्यादेश ल्याउने तयारी रहेको चर्चा छ। नेपाल पक्षलाई सहज हुने गरी अध्यादेश ल्याउन लागिएको बताइन्छ। नेपालको राजनीतिक अन्यौल र दलीय हैसियत नहुँदा ३४ दिनदेखि सरकार विस्तार हुन सकिरहेको छैन। विभाजनका लागि अध्यादेशमा राखिने प्रावधानका विगषयमा समेत नेताहरूबीच छलफल चलिरहेको बुझिएको छ।
तर, नेपाल पक्षमा कति सांसद छन् भन्ने यकिन नभएकोले अन्तिम रूप दिन बाँकी रहेको नेताहरूको भनाइ छ। राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३३ (२) अनुसार कुनै पनि दलको केन्द्रीय समिति र संघीय संसद्का संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाउन पाउने व्यवस्था छ। तर, माधव पक्षमा यो संख्या नभएकोले ४० प्रतिशतवाला व्यवस्थालाई खुकुलो बनाउन लागिएको हो। एमाले मात्रै होइन जसपाको महन्थ पक्षालाई पनि दल विभाजन गर्न सहज हुनेगरी अध्यादेश ल्याउने तयारी गठबन्धन सरकारको छ।
एमालेले अध्यादेश ल्याए सरकारले विरोध थेग्न नसक्ने चेतावनी दिएको छ। एमालेले कुनै पनि हालतमा अध्यादेश सफल हुन नदिने रणनीति बनाएको छ। ‘अहिलेको अवस्था के हो भने हामीलाई सरकारले अध्यादेश ल्याउँछ र त्यसैबाट शासन गर्छ भन्ने लाग्दैन,’ ती नेताले भने, ‘तर अध्यादेश आइहाल्यो भने त्यो सरकारले थेग्न सक्दैन। सरकारले आफ्नो बचाउ पनि गर्न सक्दैन।’
हिजो अध्यादेश ल्याएर शासन गर्न खोज्ने, केपी ओली तानाशाही भयो भन्ने दल र नेताहरुबाट यस्तो अपेक्षा नगरिएको उनको भनाइ थियो। संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘अहिले नै अध्यादेश आउँछ भनेर हामीलाई पत्यार लागेको छैन। फेरि उहाँहरुकै भाषामा भन्ने हो भने सरकारले छापामार शैलीमा सदन अन्त्य गर्यो। प्रतिपक्षलाई सुइँको पनि दिइएन।’
उनका अनुसार सत्तापक्षले एमालेलाई झुक्यायो। ‘हामीले हिजो संसद्को बैठकमा ढ्याप ढ्याप समयमा अफगानिस्तानलगायतका विषय उठान गर्ने भनेर जानकारी गराएका थियौं, सभामुखले पनि आज उठाउनुस् अर्को बैठकमा सरकारलाई यस विषयमा जवाफ दिन भन्छु भनेर भन्नुभयो,’ उनले भने, ‘हामी त्यहीअनुसार अघि बढ्यौं तर पाँच मिनेटपछि त उहाँले राष्ट्रपतिको पत्र पढेर सुनाउनुभयो। संसद् अधिवेशन अन्त्य गर्नुभयो।’लोकपाटी बाट




















