काठमाडौं,२ भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीको विचार र कार्यशैलीसँग असहमत रहँदै आएका वरिष्ठ नेता माधवकुमार नेपालले अन्ततः बुधबार निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका छन्।
बुधबार दिउँसो नेपालले निर्वाचन आयोगमा पुगेर नेकपा एमाले (समाजवादी) दर्ता गराएका हुन्। एमाले समाजवादीको केन्द्रीय समितिमा युवा नेताहरूको बाहुल्यता रहेको छ। एमाले एकता बचाउन गरिएको अनेकौं प्रयत्न असफल भएपछि अन्ततः नेपालले नयाँ पार्टी दर्ता गराएका हुन्। ओली र नेपाल समूहको वार्ता टोलीबिच पटकपटक भएको वार्ताले कुनै निकास नदिएपछि एमाले विभाजित भएको छ। यद्यपि, एकीकृत पार्टीमा रहँदा नेपाललाई साथ दिएका केही नेता मझधारमा उभिएका छन्।
पार्टी विभाजनपूर्वसम्म माधव नेपालको पक्षमा लागेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताहरू यतिबेला बिचमा उभिएका छन्। यद्यपि, वैचारिक दृष्टिले ओलीसँग थुप्रै बिमति रहेकाले उनीहरूले ढिलोचाडो आफ्नो ‘कित्ता क्लियर’ गर्नेछन्।
गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको एकता भंग गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि नेपाल समूह एमालेमै रहेर संघर्ष गर्ने निष्कर्षमा पुगेको थियो। तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल समूहलाई कुनै वास्ता गरेनन्। बरु, एकपछि अर्को पेल्ने नीति लिएपछि नेपाल समूहले संघर्षलाई व्यवस्थित गर्ने निर्णय लियो। ओलीले फागुन २८ गते एकल रूपमा केन्द्रीय समितिको बैठक आयोजना गर्दै नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरेपछि एमाले विवाद उत्कर्षमा पुग्यो।
केन्द्रीय कमिटी भंग गर्ने, पदाधिकारीहरूको जिम्मेवारी खोस्ने, प्रदेश, जिल्ला र जनवर्गीय संगठनका नेपाल पक्षधर नेताहरूको जिम्मेवारी खोस्ने लगायतका निर्णयपछि नेपाल समूहले समानान्तर गतिविधि जारी गर्दै ओली समूहमाथि दवाव दिने नीति अख्तियार गर्यो। तर, ओली त्यसबाट टसमस भएनन्। सर्वोच्च अदालतले ओलीको महाधिवेशन आयोजक समितिलाई मान्यता नदिएपछि एमालेमा फेरि सम्वादको वातावरण बन्यो।
त्यसपछि ओली र नेपालबिच भएको वार्तापछि एमालेको विवाद समाधानका निम्ति वार्ताटोली गठन गरियो। दुवैतिरका वार्ताटोलीले मध्यमार्गी बिकल्प खोज्न गरेका अनेकौं प्रयत्न ओलीको अडानका कारण सफल हुन नसकेको भन्दै नेपाल समूहले आफ्ना गतिविधिलाई जारी राख्यो। यसबिचमा ओलीले नेपाल समूहको वार्ताटोलीलाई आफूतिर तान्ने प्रयास मात्र गरेनन्, वार्ता टोलीकै संयोजक भीम रावललाई भारतीय दूतावासमार्फत् ‘म्यानेज’ गरेको चर्चासमेत चल्यो। कुनै बेला ओलीको प्रखर आलोचक मानिएका रावल एकाएक गल्नुमा त्यही ‘म्यानेज’ले काम गरेको चर्चा चल्यो।
नेपाललाई गलाउने ओली रणनीति असफल भएपछि माधव नेपाल बिनाको एमाले एकताको प्रयास गरियो। पार्टीका दोस्रो तहका नेताहरूसमेत सिद्धान्तनिष्ठ एकताभन्दा आफ्नो चुनावी क्षेत्रको चिन्तातिर लाग्दा एकता सार्थकतामा पुग्न सकेन। तर, जतिसुकै चुनौतीपूर्ण अवस्थामा पनि माधव नेपाल गलेनन्। ओलीको संसद विघटन, स्वेच्छाचारी निर्णय र भ्रष्टाचारका विरुद्ध सतिसाल भएर उभिए।
ओलीले नेपाल समूहकै नेताहरूको बैशाखी टेकेर माधवमाथि दवाव हाल्न निरन्तर प्रयास गरे। तर, माधव गलेनन्। उनले दोस्रो पुस्तामा होइन, नयाँ पुस्तामा आफ्ना गतिविधि केन्द्रित गरे। नयाँ पुस्ता, जो ओलीले कम्युनिस्ट आन्दोलनलाई बदनामित गरेको निष्कर्षमा थियो, त्यही पुस्तामा भर परेर उनले नेकपा एमाले (समाजवादी) गठनसम्मको जोखिम उठाएका छन्।
गत पुस ५ गतेदेखि भदौ २ गतेसम्म नेपालले ठूलठूला दवाव, धम्की, घेराबन्दी र असहयोगको सामना गरे। तर, उनी गलेनन्। उनकै अडानका कारण दोस्रोपटक विघटित संसद ब्यूँतियो, सर्वोच्चको परमादेशबाट देउवा प्रधानमन्त्रीमा नियुक्त भए, संसद विघटन हुनसक्ने खतराबाट बचाउँदै नेपालले देउवालाई विश्वासको मत दिए। यी सबै परिघटनामा नेपालको बलियो साथ हुँदैनथ्यो भने न संसद पुनर्स्थपना सम्भव थियो, न लोकतन्त्रको रक्षा र नयाँ सरकार गठन। पुस ५ यता माधवले नीलकण्ठ बनेर जुन विष पिए, त्यसले देशलाई प्रतिगमनबाट बचायो।
एकीकृत पार्टीभित्रको संघर्षमा नेपाललाई साथ दिएका केही नेता पार्टी विभाजनको अन्तिम अवस्थामा मझधारमा देखिएका छन्। उनीहरू राजनीतिक अंकगणित र आफ्नो भविष्यलाई केन्द्रमा राखेर निर्णय लिने मुडमा देखिन्छन्। तर, नेपाल पार्टीभित्र र बाहिर मात्र नभएर आफ्नै समूहको घेराबन्दी तोड्दै नयाँ ढंगले कम्युनिस्ट आन्दोलन एकीकृत गर्ने संकल्पमा जुटेका छन्।
राजनीतिमा मध्यमार्गी, ढुलमुले कार्यशैलीको आरोप खेप्दै आएका नेपाल पछिल्लो समय आफ्नो विचार र दृष्टिकोणमा सतिसाल भएर उभिएका छन्। जतिसुकै बाधा आउन्, जतिसुकै धम्की, दवाव र घेराबन्दी होस्, सिद्धान्तनिष्ठ समाधानमा जोड दिएर उनले आफ्नो अलग्गै छवि बनाएका छन्। यस अर्थमा भन्न सकिन्छ – माधव नेपालले यसपटक आफूलाई सिद्धान्तनिष्ठ नेतामा उभ्याउन सफल भए। लोकपाटी बाट




















