काठमाडौं, ३ भदौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त अष्टलक्ष्मी शाक्यले नेपाली राजनीतिमा एक त्यागी नेताको रुपमा परिचय बनाएकी छन् । यसअघि नेपाल सरकारको उद्योगमन्त्रीका साथै महिला बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत भइसकेकी शाक्य २०७४ को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन् ।
काठमाडौं शहरको नेवार समुदायमा जन्मिएर कम्युनिष्ट राजनीतिमा होमिएकी शाक्यको धैरे समय राजनीतिमै बितेको छ । विसं २०५६ मा काठमाडौँबाट सांसद बनेकी उनी दोस्रो संविधानसभाको सदस्यसमेत थिइन् । उनले पार्टीका विभिन्न विभाग तथा अरु जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेकी छन् ।
शाक्य झण्डै चार दशकदेखि नेपाली राजनीतिमा क्रियाशील छिन् । ६८ वर्षीय शाक्य २०३६ सालमा घर छाडेर पूर्णकालीन राजनीतिमा लागेकी थिइन् । भूमिगत राजनीति गर्दा शाक्य पहिलो पटक २०४५ सालमा इलामका पक्राउ परेकी थिइन् । उनले एमाले निकट अखिल नेपाल महिला संघको अध्यक्षको जिम्मेबारी समेत निर्वाह गरिसकेकी छन् ।
मुख्यमन्त्री शाक्यको जन्म विसं २०१० को दशैंको अष्टमीका दिन काठमाडौंको हनुमानढोका दरबार स्क्वायर नजिकैको झोचेनको नेवार परिवारमा भएको थियो । अष्टमीका दिन जन्मिएकाले उनको नाम अष्टलक्ष्मी राखिएको हो । आमा–बुबाका आठ सन्तानमध्ये उनी दोस्रो सन्तान हुन् । मुख्यमन्त्री शाक्य र नेता अमृतकुमार बोहराबीच विसं २०३८ मा जनवादी विवाह भएको थियो । उनका एक छोरा र एक छोरी छन् ।
भूमिगत राजनीतिकै क्रममा चिनजान भएका बोहरासँग शाक्यले विवाह गरेकी हुन् । उनका पति बोहरा अहिले पनि राजनीतिमा सक्रिय छन् । शाक्यले १८ वर्षको उमेरमा विद्यालय तह उत्तीर्ण गरेपछि चिनियाँ भाषा अध्ययन गरेकी थिइन् । २०२८ सालमा एसएलसी उत्तीर्ण गरेपछि शाक्य चिनियाँ भाषा सिक्ने काममा लागेकी थिइन् । किशोरावस्थामै राजनीतिक चेतना जागेकाले उनलाई चिनियाँ भाषा सिक्ने अवसरले राजनीतिमा जाने प्रेरणा मिलेको थियो ।
रत्नराज्य क्याम्पसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेपछि उनी पूर्णकालीन राजनीतिमा लागिन् । स्नातक तह अध्ययन गरिरहँदा तत्कालीन शिक्षा अव्यावहारिक र ‘बुर्जुवा रहेको भन्दै उनले अध्ययनलाई बीचमै छाडेकी थिइन् । मुख्यमन्त्री शाक्यले वामपन्थी बुद्धिजीवी महेशमान श्रेष्ठमार्फत साम्यवादका बारेमा प्रशिक्षण लिइन् । चिनियाँ भाषाको ज्ञान भएकाले उनले माओत्सेतुङको जीवनी र चीनको पुनर्निर्माणको विषयमा पनि अध्ययन गरेकी छन् ।
चिनियाँ भाषा सिकेकाले चीनको राजनीतिक व्यवस्थालाई बुझ्न उनलाई सजिलो भयो । त्यसले पनि आफूलाई कम्युनिष्ट राजनीतिमा लाग्न मद्दत पुगेको उनको भनाई छ । उनले विभिन्न समयमा जेल जीवन समेत बिताएकी छन् । पहिलो पटक अखिल नेपाल महिला सङ्घको कार्यक्रम गर्दा उनी इलाममा पक्राउ परेकी थिइन् ।
विसं २०४६ सालमा झापामा पार्टी कमिटीको बैठक भइरहेका बेला शाक्यसहित अन्य थुप्रै नेता पक्राउ परेका थिए । जेल जीवन बिताउँदा झापा कारागारमा आफूहरुलाई सिस्नु पानी लगाइएको उनी बताउँछिन् । प्रहरीले दैनिक यातना दिँदा पनि हिम्मत नहारेकी शाक्य २०४६ सालमा देशमा बहुदल स्थापना भएपछि जेलमुक्त भएकी थिइन् ।
शाक्यले २०३६ देखि २०४६ सालसम्म सिन्धुपालचोकदेखि झापासम्मका गाउँमा राजनीतिक चेतनाको विकास गर्न नेतृत्वदायी भूमिका खेलिन् । केही समय उनले मेची अञ्चलको महिला सङ्घको नेतृत्व समेत गरिन् । शाक्यले एमालेको मुस्लिम सङ्गठन, कानून विभाग र संसदीय सुनुवाइ समितिको प्रमुखको जिम्मेवारी समेत निर्वाह गरिन् । एमालेको महिला सङ्गठनलाई मजबुद बनाउन शाक्यको विशेष भूमिका छ । तत्कालीन अवस्थामा एमालेको पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी शाक्य नवौं अधिवेशनबाट उपाध्यक्ष बनेकी थिइन् । उनै शाक्यले अहिले बागमती प्रदेशको मुख्यमन्त्रीको बागडोर सम्हालेकी छन् । रासस




















