धादिङ,३ भदौ । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छिन्। नेकपा एमालेकी उपाध्यक्ष शाक्यलाई बुधबार राति मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।
प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईले मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै नयाँ मुख्यमन्त्रीमा शाक्यलाई नियुक्त गरेका हुन्। यससँगै शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेर ईतिहास रचेकी छिन्।
बुधबार नै नेकपा एमालेको बागमती प्रदेशको संसदीय दलको नेताबाट पौडेलले राजीनामा दिएका थिए त्यसपछि शाक्यलाई संसदीय दलको नेता चयन भएकी थिइन्।
लामो समयदेखि नेपाल समूहमा रहेर ओलीविरुद्ध लडेकी शाक्यले पार्टी गठनको समयमा नेपाल समूह त्यागेकी हुन्। ओली समूहले मुख्यमन्त्री अफर गरेपछि उनले नेपाल समूहलाई छाडेको चर्चा चलेको छ।
तर, उनलाई संसदमा बहुमत पुग्छ त भन्ने चासो देखिएको छ। कुल ११० सांसद रहेको बागमतीमा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ। नेकपा एमालेसँग प्रदेश सभामा ५६ जना सांसद छन्। जुन बहुमतका लागि पर्याप्त छ। तर बागमतीमा ओलीपक्षका ३५ र माधवपक्षका २१ सांसद छन्।
प्रदेशमा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाको ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन्।
माधव पक्षका सांसदको समर्थनबाट मात्र उनलाई बहुमत पुग्ने देखिन्छ। किनकि अन्य दलहरुले उनलाई समर्थन गर्ने कुरा हालका लागि सम्भव देखिदैन। पार्टी फुटिसकेको अवस्थामा माधव समूहले केपी समुहमै रहेका शाक्यलाई साथ दिन सक्दैन। शाक्य मुख्यमन्त्री रहि रहन पुन नेपाल समुह मै फर्केर गठबन्धनको बिश्वास लिन सक्नु पर्छ। टाइम्स अफ धादिङ




















