काठमाडौं, ३ भदौं । कम्युनिष्ट नेता प्रदीप नेपालले आफू माधव नेपालको मान्छे भएको बताएका छन्। नेपालको नेतृत्वमा बुधवार दर्ता भएको नेकपा एमाले (समाजवादी)को केन्द्रीय समितिमा आफ्नो नाम राखेर किर्ते गरेको बताएका नेता नेपालले बिहीबार बिहान आफू नेपालको मान्छे भएको बताएका हुन्।
उनले नेता नेपालको मान्छे भएको बताए पनि आफू ६ वर्षदेखि कमिटीविहीन भएकाले अहिले आफ्नो कुनै कमिटी नभएको उल्लेख गरेका छन्। ‘म माधव नेपालको मान्छे हुँ,’ उनले भनेका छन् ‘अहिले मेरो कुनै कमिटी छैन। छ वर्षदेखि म कमिटीविहीन अवस्थामा छु।’
बुधवार माधव नेपालले नयाँ दलको केन्द्रीय कमिटी सदस्यका रूपमा आफ्नो नाम समेटेर व्यक्तिगत स्वतन्त्रता हनन् गरेको उनले आरोप लगाएका थिए। नेकपा एमालेको केन्द्रीय समिति सदस्यसमेत रहेका प्रदीप नेपालले एमालेको झगडा हुँदा आफू तटस्थ रहेकै भरमा माधव नेपालले किर्ते गरेर आफ्नो नाम केन्द्रीय समितिमा राखेको प्रतिक्रिया दिएका थिए।




















