काठमाडौं,३ भदौ । एमालेका उपाध्यक्ष बामदेव गौतमले आफूनिकट कार्यकर्तासँग छलफल गरेका छन्। बिहीबार बिहान भर्चुअलरुपमा गौतमले देशभरका आफूनिकटका कार्यकर्तासँग छलफल गरेका हुन्।

एमालेका माधवकुमार नेपालले एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै गौतमले आफ्ना कार्यकर्तासँग छलफल गरेका हुन्। छलफलमा अधिकांश कार्यकर्ताले एमाले समाजवादीमा सक्रिय भएर लाग्न गौतमलाई सुझाव दिएका छन्।

यसअघि पार्टीभित्र केपी शर्मा ओली र नेपालबीच विवाद चलिरहँदा पनि कुनै पक्षमा नलागि तथस्त रहनुभएका गौतम पार्टी विभाजन भएपछि पनि हालसम्म कुनै पक्षमा लागेका छैनन्।

स्रोतका अनुसार वरिष्ठ नेता नेपालले नयाँ पार्टी दर्ता गर्नुअघि गौतमसँग छलफल गरेका थिए। गौतमले आफूले ओलीबाट पटकपटक धोका पाएको भन्दै यसपटक सचेत रहने बताएका थिए। गौतमको समेत समर्थन पाउने विश्वाससहित नेपालले नयाँ दल दर्ता गरेको बुझिएको छ।

बिहीबार बिहान गौतमले भर्चुअल माध्यमबाट आफूनिकट नेताहरूसँग गरेको छलफलमा अधिकांश नेताले ओलीसँग रहन नहुने सुझाव दिएका छन्। ओलीले तत्काल सहमति जनाउने तर भविष्यमा जुनसुकै बेला धोका दिने भएकाले अहिलेदेखि नै सचेत रहनुपर्नेमा अधिकांश नेताहरूले जोड दिएका थिए।