काठमाडौं,४ भदौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमालेमा अझै खिलहरु बाँकी रहेको भन्दै तिनीहरुलाई निचोरेर फाल्ने बताएका छन्।
बिहीबार आफूनिकट नेताहरुसँगको भेटमा ओलीले माधवकुमार नेपालपक्षका सबैजना नजाँदा बाँकी रहनेले खिलको रुपमा दुख दिने बताएका हुन्।
माधवकुमार नेपाल पक्षले नेकपा एमाले समाजवादी पार्टी खोलेकोमा ओलीले खुसी व्यक्त गरेको समेत ती नेताले दाबी गरे।
केपी ओलीको भनाई उदृत गर्दै ओली पक्षका एक नेताले भने, ‛नेपालपक्षसबै जान्छन् भन्ठानेको केही रहने भए। सबै पिलो निचोरियो भन्ठानेको अझै खिल बाँकी रहने भयो। कति दुस्ख दिने हुन्। बाँकी रहेका (घनश्याम भुसाल, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली) पनि उतै गए हुन्थ्यो।’
केपी ओलीको चर्को विरोध गर्ने नेताहरुले नेपालले नयाँ पार्टी खोलेपछि साथ दिएका छैनन्। नेपालपक्षका स्थायी कमिटीमा नेपालसहित १३ जना भए पनि ९ जनाले विभाजनमा नलाग्ने घोषणा गरेका छन्।
जसमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, रघुजी पन्त, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, अमृत बोहोरालगायत छन्। यस्तै, केन्द्रीय कमिटीमा नेपालपक्षका ८५ जना भन्दा धेरै भएपनि अन्तिममा ५८ जनाले मात्रै उनलाई साथ दिएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेजसँगै पुनर्स्थापित भएको नेकपा एमाले पनि छिन्नभिन्न भएको छ। सरकारले पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याइदिएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूसहित ५८ जना केन्द्रीय सदस्यलाई समेटेर नयाँ पार्टी दर्ता गराएका छन्। बाँकी एमाले पनि एक ठाउँमा छैन।लोकपाटी बाट




















