काठमाडौं,६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यको विवरण अद्यावधिक गरेर निर्वाचन आयोगलाई पठाएको २६० सदस्य संख्यालाई आयोगले तत्काल मान्यता नदिने भएको छ। आयोगमा रेकर्ड भएको एमाले नवौं महाधिवेशनबाट पारित विधान र निर्वाचित केन्द्रीय कमिटी सदस्यको आधारमा अघि बढ्ने निर्वाचन आयोगले तयारी गरेको बुझिएको छ।

नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको अवस्थामा आयोगले एमालेको २०३ सदस्यीय साबिककै केन्द्रीय कमिटीलाई मान्यता दिने भएको हो। निर्वाचन आयोगले माधव नेपाल पक्षलाई फरक पार्टी ‘नेकपा एकीकृत समाजवादी’ दर्ताका लागि सनाखत गर्न आगामी भदौ ९ गते बोलाएको छ।

सनाखतका क्रममा नेपाल पक्षले अब २६० को २० प्रतिशत नभई २०३ बाटै २० प्रतिशत पुर्‍याउँदा हुने भएको छ। एमाले अध्यक्ष ओलीले अद्यावधिक गरेको २६० सदस्यीय केन्द्रीय कमिटीलाई आयोगले आधार नमान्ने भएको छ। गत मंगलबार भदौ १ गते एमाले पार्टीको निर्णयको आधिकारिक माइन्युटसहित एमालेले केन्द्रीय सदस्यहरूको नाम थपेर २०३ को ठाउँमा २६० पारेर आयोगलाई विवरण दिएको थियो।

‘सनाखतका क्रममा २० प्रतिशतको मापनका लागि २०३ सदस्यीय केन्द्रीय कमिटीलाई नै आधार मानिने छ। एमाले अध्यक्ष ओलीले अपडेट गरेर पठाएको नामावली अहिले आयोगले सदर गरिसकेको छैन, त्यसबारे अलि पछि निर्णय गरिनेछ,’​ आयोग स्रोतले भन्यो।

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश जारी गरे लगत्तै नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यको संख्या बढाएर निर्वाचन आयोगमा अद्यावधि गर्न पठाएको थियो। नेता माधव नेपालको पार्टी दर्ता गर्ने संख्या नपुगोस् भन्ने उद्देश्यले ओलीले एकाएक केन्द्रीय सदस्यहरूको नाम थपेर आयोगमा अद्यावधिक गर्न पठाएको माधव पक्षले आरोप लगाउँदै आएको थियो।

‘कानुनतः आयोगले दलको विधान र केन्द्रीय सदस्यको रेकर्ड हेरेर निर्णय गर्छ। त्यसरी हेर्दा यसअघि एमालेको केन्द्रीय सदस्य संख्या २०३ नै आयोगमा रेकर्डमा देखिन्छ,’ आयोग स्रोतले भन्यो, ‘यसरी हेर्दा माधव नेपालले आयोगमा दल दर्ता गर्न दिएको निवेदनमा २०३ को २० प्रतिशत संख्या पुर्‍याएमा नयाँ दलले मान्यता पाउन सक्छ।’