काठमाडौं,६ भदौ । नेकपा एमाले विभाजन हुँदा वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ नदिई पार्टी एकतामा जोड दिइरहेका नेपाल पक्षका नेताहरू निराश हुन थालेका छन्। पार्टी एकताका लागि विघटित कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्न एमाले दोस्रो तहका नेताहरूले जोड दिइरहेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहमति कार्यान्वयनका लागि उनीहरूले आग्रह गरिरहेका छन्।
नेपालको साथ छाडेका एमाले नेताहरूको शुक्रवार बसेको बैठकले १० बुँदे सहमति निश्चित समयभित्र कार्यान्वयन गर्नु पर्ने निष्कर्ष निकालेको थियो। सहमति कार्यान्वयन नभए एमालेभित्र विद्रोह गर्ने अभिव्यक्ति सो समूहका नेताहरूले दिइरहेका छन्। सोहिक्रममा सहमति कार्यान्वयनबारेमा छलफल गर्न एमाले उपाध्यक्ष भीम रावलसहित केही नेताहरूले अध्यक्ष ओलीसँग भेटेरै कुरा गर्न चाहेका थिए। तर, अध्यक्ष ओलीले उनीहरूसँग छलफल गर्न नचाहेको एमाले स्रोतले जनाएको छ।
‘हामीले भेटेरै कुरा गर्छौं भनेपछि अध्यक्ष ओलीले अहिले समय छैन भन्नुभयो,’ तटस्थ बसेका एक नेताले भने, ‘त्यसो भए कहिले समय हुन्छ त भनेर सोध्यौं। उहाँले जे भन्ने हो फोनमै भन्नुस्, अहिले भेट्ने समय छैन भन्नुभयो।’ अध्यक्ष ओलीले सहमति कार्यान्वयन गर्न रुचि नदेखाएपछि नेता रावल सहितका नेताहरू एमाले छोड्ने मनस्थितिमा पुगेको बताइएको छ।
स्रोतका अनुसार ओलीलाई रावलले फोन गरेका थिए। करिब १५ मिनेट भएको कुराकानीमा ओलीले दश बुँदे सहमति कार्यान्वयन नगर्ने संकेत गरेपछि रावललगायतका नेताहरू निराश बनेका हुन्। काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन खुकुलो हुने गरी अध्यादेश ल्याएको भोलिपल्टै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहित ५८ केन्द्रीय सदस्य र ३१ सङ्घीय संसदका सदस्यले नयाँ पार्टी दर्ता गर्न निवेदन दिइसकेका छन्।
एमालेभित्रको अन्तरसंघर्षमा नेता नेपाललाई साथ दिएका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, अमृतकुमार बोहरा र रघुजी पन्तलगायतका नेताहरूले नयाँ दल दर्ताको निवेदनमा हस्ताक्षर गरेका थिएनन्। उनीहरूले पार्टी विभाजन हुन नहुने भन्दै एकताको प्रक्रिया जारी राखेको बताएका छन्।
यसअघि असार २७ गते भएको दश बुँदेको कार्यान्वयन र १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने ती नेताहरूको अडान छ। तर, अध्यक्ष ओलीले १४ सांसदलाई गरिएको कारबाही फिर्ता नलिने अडान लिएका छन् भने दश बुँदे सहमति कार्यान्वयन नगर्ने संकेत देखाएका छन्। पछिल्लो समय ओलीले एकता प्रक्रियाका लागि भन्दै प्रयास गरिरहेका नेताहरूलाई भेट्नसमेत मानिरहेका छैनन्।




















