सिन्धुपाल्चोक,८ भदौ । अखिल क्रान्तिकारी चौतारा साँगाचोकगढी नगरपालिका दोस्रो सम्मेलनले प्रलाद बिकको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी गठन गरेको छ। सोमबार सम्पन्न सम्मेलनले विकको अध्यक्षतामा नगर कमिटी गठन गरेको हो।

सम्मेलनले अध्यक्षमा प्रलाद बिक, उपाध्यक्षमा रबिन सापकोटा र शोभा घोरासैनी, सचिवमा अमृत श्रेष्ठ, सहसचिवमा सुदर्शन अर्याल र सिर्जना घोरासैनी र कोषाध्यक्षमा सुप्रिन्स कसजु चयन गरेको छ। सम्मेलनले ६ वटा विभागसमेत गठन गरेको छ।

विभागहरू संगठन विभागमा प्रजोल नेपाल, प्रशिक्षण विभागमा रश्मिला खत्री, आर्थिक विभागमा दिनेश श्रेष्ठ, प्रचार प्रसार विभागमा, सुदर्शन आचार्य, छात्रा विभागमा प्रजिता पराजुली र अतिरिक्त क्रियाकलाप विभागमा विजय ठकुरी रहेका छन्।

अध्यक्षमा चयन भएपछि बिकले आफ्नो नेतृत्वमा विद्यार्थी आन्दोलनलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाए। उनले क्रान्तिकारी आन्दोलनमा धेरैभन्दा धेरै विद्यार्थीलाई आबद्ध गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे। उनले भने, ‘विद्यार्थी आन्दोलनलाई थप उचाइमा पुर्‍याउन अबल कमिटीको रूपमा दर्ज गर्ने छौं। धेरैभन्दा धेरै विद्यार्थीलाई क्रान्तिकारी आन्दोलनमा आबद्ध गर्दै अगाडि बढ्ने छौं।’

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कृष्णप्रसाद सापकोटाले शैक्षिक आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन भूमिका लेख्न आग्रह गरे। उनले परिवर्तनको नेतृत्व विद्यार्थीले नै गर्ने भएकोले नवगठित समितिको सफलताको शुभकामना दिए। उनले भने, ‘विद्यार्थीहरू शक्तिका स्रोत हुन्। परिवर्तनको नेतृत्व गर्ने विद्यार्थीले नै हो। तपाइहरू अगाडि बढ्नुहोस्। तपाइहरूको साथमा हामी छौं। शैक्षिक आन्दोलनको सफल नेतृत्व गर्न सक्नुहोस्।’

यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख तथा नेकपा माओवादी केन्द्रका प्रदेश सल्लाहकार अमान सिं तामाङले युवाहरू परिवर्तनका बाहक भएकोले अखिल क्रान्तिकारी विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै अगाडि बढ्ने सवालमा अबल रहनेमा विश्वास व्यक्त गरे।

त्यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख जानुका पराजुलीले विद्यार्थी आन्दोलनमा अखिल क्रान्तिकारी सबैभन्दा क्रान्तिकारी शक्तिको रूपमा रहँदै आएकोले इतिहास रहेको उल्लेख गर्दै नगर समितिले पनि परिवर्तनकारी आन्दोलनको नेतृत्व गर्न सफल होस् भन्दै शुभकामना दिइन्। अखिल क्रान्तिकारी नगर कमिटी अध्यक्ष अर्जुन शर्माको अध्यक्षतामा सम्पन्न सम्मेलनमा दुई सय जना प्रतिनिधिको उपस्थिति रहेको थियो।