काठमाडौं,९ भदौ । माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य प्रेम आलेले आफूहरूसँग साविक एमालेका ६२ केन्द्रीय सदस्य र ३१ सांसद रहेको बताएका छन्।
बुधबार सनाखतका लागि निर्वाचन आयोग पुगेका सांसद आलेले नयाँ दल दर्ताका लागि आवश्यक केन्द्रीय समिति र संसदीय दलमा २० प्रतिशत पुग्ने दाबी गरेका हुन्। प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरेर एमालेका १५५ सांसद रहेका छन्। २० प्रतिशतको लागि ३१ सांसदको आवश्यकता पर्छ।
संसदीय दलमा २० प्रतिशत नपुगे पनि केन्द्रीय कमिटीमा मात्र २० प्रतिशत उपस्थित भए पनि माधव नेपालको पार्टीले आधिकारिकता पाउने छ। स्रोतका अनुसार हस्ताक्षर सनाखत भएमा निर्वाचन आयोगले आजै दल दर्ताको प्रमाणपत्र दिने तयारी रहेको छ।




















