विराटनगर,१६ भदौ । विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)मा आबद्ध हुन भन्दै प्रदेश १ का १० जना एमाले सांसदले निर्वाचन आयोगमा सनाखत गरेका छन् ।

विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर उनीहरूले आज एमाले छोड्दै समाजवादीको पक्षमा सनाखत गरेका हुन् । यसरी सनाखत गर्ने सांसदहरूमा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, कृष्ण कुमारी राई र सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ रहेका छन् ।
सनाखत कार्य यही भदौ २२ गते ५ बजेसम्म हुने र त्यससम्बन्धी सम्पूर्ण कागजात केन्द्रीय निर्वाचन आयोगमा पठाउने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए । सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेकपा एकीकृत समाजवादी नेता राजेन्द्र राईले वर्तमान सरकार अल्पमतमा परेकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।
उनले भदौ २२ गतेसम्म थप सातदेखि आठ जना सदस्यले नेकपा (एकीकृत समाजवादी) मा आउने दाबी गर्दै भदौ २३ गतेपछि सरकार निर्माणको प्रक्रिया सुरु गरिने जानकारी दिए । नेता राईले प्रदेशका गठबन्धन दलबीचको आपसी सहमतिमा मुख्यमन्त्री चयन गरिने भएकाले सङ्घीय सरकारको कुनै हस्तक्षेप नहुने बताए । सनाखत कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्तामा ठूलो समूह उपस्थित थियो ।




















