काठमाडौं,१८ भदौ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएका हुन् । गौतमले राजिनामा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएर फर्किएको स्वकीय सचिव दिपक टमाटाले  जानकारी दिए ।

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए । उनी नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाइरहेका थिए ।

एमाले ब्युँतिएपछि केही बैठकहरुमा भाग लिएका गौतमले पछिल्लो समय माधव नेपालले एमाले विभाजन गरेपछि नयाँ पार्टीमा लाग्ने घोषणा गरेका थिए । तर एकीकृत समाजवादीले जनताका बहुदलीय जनवाद छाडेको भन्दै उनले माधव नेपालसँग जवाफ मागेका छन् ।

 २०५४ सालमा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले छाडेका छन् ।उनी राष्ट्रियसभाका सदस्य छन् भने पत्नी तुलसा गौतम प्रतिनिधिसभा सदस्य छन् । गौतम निकट नेताहरु यसअघि नै माधव नेपालको पार्टीमा गइसकेका छन् ।

गौतमले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने विषयमा छलफल अगाडि बढाएका छन्। तर, त्यसका लागि गौतमले एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त अंगिकार गर्नुपर्ने ‘सर्त’ राखेका छन्।