काठमाडौं,१८ भदौ । काठमाडौंका २ स्थानीय तहका उपप्रमुखसहित ३५ जना नेकपा एमाले छोडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा आबद्ध भएका छन्।

शुक्रवार २ वटा स्थानीय तहका उपप्रमुखसहित ३५ जनाले नेकपा एमाले छोडेर नेकपा समाजवादीमा आबद्ध भएको बागमती प्रदेशसभा सदस्य एवम् नेकपा एकीकृत समाजवादी काठमाडौंका अध्यक्ष वसन्त मानन्धरले जानकारी दिए।

उनका अनुसार ३५ जना जनप्रतिनिधिले शुक्रवार जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा नेकपा समाजवादीको पक्षमा सनाखत गरेका हुन्। काठमाडौंको शंखरापुर नगरपालिकाकी उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, तार्केश्वर नगरपालिकाकी उपप्रमुख भवानी डोटेल धितालसहित ३५ जना नेकपा एसमा खुलेको अध्यक्ष मानन्धरले बताए।

अध्यक्ष मानन्धरका अनुसार काठमाडौं महानगरपालिकाका २ जना वडा अध्यक्ष, तारकेश्वर नगरपालिकाका २ जना वडा अध्यक्ष र टोखा नगरपालिकाका एक जना वडा अध्यक्षले नयाँ पार्टी रोजेका छन्। यसैगरी काठमाडौं महानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १५ का अध्यक्ष ईश्वर मान डंगोल र वडा नम्बर ७ का वडा अध्यक्ष शुक्रमान डंगोलले पनि नयाँ पार्टी रोजेका छन्।

त्यस्तै तर्केश्वर नगरपालिका वडा नम्बर २ का रवीन्द्र केसी र वडा नम्बर ६ का वडा अध्यक्ष मधु कार्कीले नेकपा एसमा सनाखत गरेका छन्। टोखा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष पनि नयाँ पार्टीमा खुलेको र आगामी २२ गतेसम्म काठमाडौँका धेरै जनप्रतिनिधिहरू आफूहरूको पार्टीमा सहभागी हुने अध्यक्ष मानन्धरले दाबी गरे।