खोटाङ,२० भदौ । खोटाङमा नेकपा (एकीकृत समाजवादी) ले कार्यालय स्थापना गरेको छ। एमालेको समानान्तर कमिटीलाई नेकपा (एकीकृत समाजवादी) मा रुपान्तरण गर्दै शनिबार दिक्तेलको बेस क्याम्पमा कार्यालय स्थापना गरिएको हो।
नेकपा (एकीकृत समाजवादी) का प्रदेश समन्वय समितिका संयोजक बिरवलकाजी राई, जिल्ला अध्यक्ष बबी चाम्लिङ लगायतले संयुक्त रुपमा पार्टीको बोर्ड झुण्ड्याएर कार्यालय उद्घाटन गरेका हुन्। नकेपा (एकीकृत समाजवादी) ले जिल्लास्थित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा मालेको नेताको उपस्थितिमा पार्टी कार्यालय स्थापना गरेको हो।
पार्टी कार्यालय उद्घाटन अगाडि आयोजित कार्यक्रममा बोल्दै पुर्व सांसद एबं नेकपा मालेका पोलिटव्यूरो सदस्य कुलप्रसाद फुयाँल, जनता समाजवादी पार्टीका प्रदेश कमिटी सचिव सुर्यवहादुर राई, नेपाली कांग्रेसका जिल्ला सदस्य डिल्लीकुमारी आचार्य, नेकपा माओवादी केन्द्रका दिक्तेल नगर कमिटिका अध्यक्ष विसन राई, नेकपा माले जिल्ला कमिटि सचिवालय सदस्य झुलेन्द्र बिक लगायतले जिल्लामा विचार मिल्ने तथा अग्रगामी चरित्रका पार्टीविचमा कार्यगत एकता गर्दै अघि बढ्नुपर्नेमा धारणा राखेका छन्।
अध्यक्ष चाम्लिङको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला कमिटीका सचिवालय सदस्य एबं युवा तथा खेलकुद विभाग प्रमुख माईतीराज राई र दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटी अध्यक्ष यादवसेन राईले पार्टीकोतर्फबाट धारणा राखेका थिए।
नेकपा एमाले जिल्ला कमिटिको २०७२ साल बैसाख १० गतेदेखि १४ गतेसम्म भएको छैठौं अधिवेसनमा निर्वाचित ५९ सदस्यमध्ये अध्यक्ष बबी चाम्लिङ सहित २३ सदस्य नेकपा (एकीकृत समाजवादी) मा लागेको सो पार्टीका जिल्ला सचिव जलसेर राईले बताए।
एमालेभित्र मतभेद भएसँगै बनाइएको समानान्तर कमिटीलाई नेकपा (एकीकृत समाजवादी) मा रुपान्तरण गरेर ६१ सदस्यीय जिल्ला कमिटी बनाउने तयारी गरिएको जनाइएको छ। जिल्ला कमिटीमा ४० प्रतिशत युवाको सहभागिता रहने सचिव राईले बताए।




















