काठमाडौं,२० भदौ । नेकपा (एकीकृत समाजवादी)ले पार्टीका गतिविधि अगाडि बढाउन नेताहरुलाई जिम्मेवारी बाँडफाड गरेको छ। शनिवार बसेको स्थायी समितिको बैठकले प्रदेश इञ्चार्जदेखि विभिन्न फाटहरुमा नेताहरुलाई जिम्मेवारी दिएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए। राष्ट्रिय कार्यकर्ता भेलाबाट नेतृत्व चयन गरिने भए पनि तत्कालका लागि संगठनात्मक गतिविधि अघि बढाउन जिम्मेवारी तोकिएको हो।

सोहीअनुसार समाजवादीको अन्तरिम अवधिका लागि बेदुराम भुसालले महासचिवको भूमिका निर्वाह गर्ने भएका छन्। यद्यपि, घोषित रुपमा सो जिम्मेवारी तोकिएको भने छैन। गत शुक्रबार सो पार्टीद्वारा जारी अन्तरपार्टी निर्देशन- १ मा बेदुराम भुसालको नेतृत्वमा सचिवालय गठन गरिएको छ। ‘पार्टीको दैनिक कार्य सम्पादन गर्नका निम्ति कमरेड डा बेदुराम भुसालको संयोजकत्वमा कमरेडहरु प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा गंगालाल तुलाधर, डा विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहनुभएको सचिवालय गठन गरिएको छ,’ अपानिमा भनिएको छ।

पार्टीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि यो लगायत अन्य जिम्मेवारी पनि तोकिएको छ। निकट समयमा राष्ट्रिय सम्मेलन आयोजना गरिने र राजनीतिक प्रतिवेदन र उपयुक्त दस्तावेजहरु परित गरिने तथा केन्द्रीय कमिटीलाई पूर्णता दिइने बताइएको छ।

सो पार्टीको अन्तरिम विधानमा सचिवालयको नेतृत्व महासचिवले गर्ने उल्लेख छ। विधानको धारा २८ (क) मा केन्द्रीय कमिटीले महासचिव, उपमहासचिव र सचिवहरु रहेको केन्द्रीय सचिवालय गठन गर्नेछ भन्ने उल्लेख छ। त्यस्तै, विधानको धारा २१ (ड) (१) मा महासचिवको अधिकार र कर्तव्य अन्तर्गत केन्द्रीय सचिवालय सञ्चालन गर्ने उल्लेख छ।