रुकुम,२० भदौ । रुकुम पश्चिममा नेकपा एमाले जिल्ला कमिटीका अधिकांश सदस्य नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ। समाहित कमिटीका अध्यक्ष विमलकुमार पुनले अपवादमा केही सदस्य छाडेर नेकपा एमालेको सिंगो जिल्ला कमिटी नै नेकपा एकीकृत समाजवादीमा सामेल भएको बताए।
उनका अनुसार एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित खगेन्द्रप्रसाद पुरी र कर्णाली प्रदेशसभा सदस्य देवी ओली पनि नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन्। नेकपा एमालेको साविक ६५ सदस्यीय जिल्ला कमिटीमध्ये पाँच जना यसअघि नै नेकपा माओवादी केन्द्रमा प्रवेश गरिसकेका थिए। बाँकीमध्ये अधिकांश सदस्य नेकपा एकीकृत समाजवादीमा सामेल भएको उनको भनाइ छ।
आफूसहित एमाले सचिव हरिप्रसाद शर्मा, उपसचिव माधव गौतम लगायत झण्डै ७५ प्रतिशत कमिटी सदस्यले एकीकृत समाजवादी रोजेको पुनले बताए। उपाध्यक्ष ऋषिप्रसाद शर्मा भने हालसम्म कुनै पनि पक्षमा नखुलेको बताइएको छ। औपचारिक रूपमा एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटी गठनसँगै रुकुम पश्चिमको जिल्ला कमिटी कार्यालयसमेत स्थापना गरिएको छ। मुसिकोटको कालिका मन्दिरमा स्थापित कार्यालय केन्द्रीय सदस्य शेरबहादुर केसीले उद्घाटन गरेका थिए।
नेकपा एकीकृत समाजवादी पार्टी रुकुम पश्चिमको जिल्ला कमिटीको पहिलो बैठकले १०६ सदस्यीय जिल्ला कमिटी बनाउँदै जिल्लाका सबै पालिकामा पार्टी निर्माणका लागि कार्यकर्ता भेला र कमिटी निर्माणलाई तीव्रता दिने निर्णयसमेत गरेको अध्यक्ष पुनले बताए।




















