काठमाडौँ,२० भदौ । नेकपा एमालेका नेता बामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीको मुखराविन्दबाट दुर्वचन, अपशब्द र मिथ्या वाहेक केही सुन्न नपाइने आरोप लगाएका छन् ।

एमाले अध्यक्ष ओली सहित ओली निकट केही नेताहरुलाई नेता गौतमले भाइबर मार्फत् म्यासेज पठाएर यस्तो बताएका हुन् । आइतबार ओली लगायत एमालेका अधिकांश नेतालाई भाइबरमा सन्देश पठाएका हुन् ।

उनले सबैभन्दा ठूलो पार्टीको नेताबाट दुर्वचन र मिथ्या वाहेक केही सुन्न नपाइएको गुनासो गरे । यद्यपि आफूले कम्युनिस्ट आन्दोलन नछाडेकाले कतै भेट पनि हुनसक्ने बताएका छन् ।

नेता गौतमले यसअघि शुक्रबार नेकपा एमालेको कार्यालयमा पुगेर पार्टी परित्याग गरेको भन्दै राजीनामापत्र बुझाएका थिए । त्यसपछि उनले आफू कुनै पार्टीमा सामेल भएको घोषणा गरेका छैनन् । नेकपा एमाले विभाजनअघि भने उनले केपी ओलीको पक्षमा रहेको भन्दै सार्वजनिक रुपमा घोषणा गरेका थिए । एमाले विभाजनपछि नेता गौतम निकट अधिकांश कार्यकर्ताहरु भने माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ सामेल भएका छन् ।

नेता गौतमले पठाएको सन्देश जस्ताको त्यस्तै:

"नेपालको सबै भन्दा ठूलो पार्टीका अध्यक्ष कमरेड केपीको मुखराविन्दबाट दुर्वचन, अपशब्द र मिथ्या बाहेक अरु केही सुन्न नपाइने भयो। मैले एमाले पार्टी छोडे पनि कम्युनिस्ट आन्दोलन छोडेको छैन। ख़्याल रहोस् भविष्यमा कतिपय मोर्चाहरुमा सँगै काम गर्न पनि पर्नसक्ने हुन्छ ।"