काठमाडौं, २४ भदौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजमा भड्किलो र खर्चिलोपन हटाउँदै जानुपर्ने बताएकी छन् ।

हरितालिका तीज २०७८ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेको बताएकी हुन् । तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सूत्रमा आबद्ध गर्न मद्धत पुर्‍याउने उनको विश्वास छ ।

तीजले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै सभ्य, समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी उनले कामना गरेकी छन् भने जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि भनेकी छन् ।
तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तृतीयाका दिन शिव-पार्वतीको र पञ्चमीका दिन सप्तऋषिको पूजा, उपासना गर्नाले मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ ।