काठमाडौं,२७ भदौ । नेकपा एमालेमा सुदूरपश्चिम प्रदेश संयोजक कसलाई बनाउने भन्ने विषयमा विवाद देखिएको छ। पार्टी स्थायी समिति सदस्य डा. भीम रावल र लेखराज भट्ट दुवैले सुदूरपश्चिम प्रदेशको संयोजक बन्ने अडान लिएपछि सो जिम्मेवारी कसलाई दिने भन्ने विषयमा असहजता उत्पन्न भएको हो।

पार्टीको आन्तरिक एकता जोगाउनभन्दै गत असार २७ गते एमाले दोस्रो पुस्ताका नेता र अध्यक्ष केपी ओलीबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको थियो। उनीहरुबीच पार्टीका संरचना २०७५ जेठ २ कै अवस्थामा कायम रहने समझदारी थियो। स्थायी समितिले १० बुँदे सहमतिलाई अनुमोदन गरेसँगै एमाले ‘तेस्रो धार’मा रहेका नेताहरू पुरानै जिम्मेवारीमा फर्किएका थिए। तर सुदूरपश्चिम प्रदेशको संयोजकमा नेता भट्टले अडान कायमै राखेका छन्।

शनिवार स्थायी समिति बैठकबाट उक्त विषयमा टुंगो लगाइने बताइएको थियो। बैठकले उक्त विषयमा कुनै पनि निर्णय गरेन। एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा आइतबार बिहान उक्त विषयमा एमाले शीर्ष नेताबीच छलफल भएको छ। छलफलमा अध्यक्ष ओलीले पार्टीको अहिलेको प्रदेश संरचनामा कुनै फेरबदल हुन नसक्ने जवाफ दिए। उनले लेखराज भट्टले नै उक्त जिम्मेवारी सम्हाल्ने र रावललाई उपाध्यक्षको जिम्मेवारी बहन गर्न भनेका हुन्।

भट्ट गत फागुन २३ पछि एमाले सुदूरपश्चिम इन्चार्ज तोकिएका हुन्। त्यसबेला रावल माधव नेपाल समूहमा रहेका थिए। माधव नेपाल सहितका नेताहरूले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी गठन गर्दा रावल पुनः ओलीसँगै बसेका थिए। १० बुँदे कार्यदलका संयोजक समेत रहेका रावल पार्टी जेठ २ मा फर्कने भन्ने सहमतिपछि सुदूरपश्चिमको संयोजक पनि स्वतः आफै हुनुपर्ने पक्षमा छन्। तर रावलको उक्त चाहाना अध्यक्ष ओलीका कारण पुरा हुन नसक्ने भएको छ।

सुदूरपश्चिम संयोजकमा रावल र भट्टबीच विवाद भएपछि आइतबार बिहान अध्यक्ष ओलीले उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरू सुवास नेम्वाङ तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापालाई बालकोटमा बोलाएका थिए। ‘कार्य विभाजन यथावत् छ। जिम्मेवारी परिवर्तन भएको छैन’बालकोटमा ओलीले रावललाई भनेका थिए,‘तपाई उपाध्यक्ष र सहजीकरणको जिम्मेवारी निर्वाह गर्नुस्।’

ओलीले नेताहरुकाबीचमा प्रस्ट भनेका थिए, ‘जेठ २ जस्ताको तस्तै लागु हुँदैन। यसमा प्रस्ट हुनुस्।’ तर छलफलमा भीम रावलले पार्टी २ जेठ २०७५ मा फर्केपछि पुन आफूले नै सुदूरपश्चिमको इन्चार्ज हुनुपर्ने अडान ओलीसमक्ष राखेका थिए। ‘पार्टी जेठ २ मा फर्कने भनेपछि त्यही अनुसार अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो,’ रावलले बालकोटमा ओलीको भनाइप्रति असहमति प्रकट गरेका थिए।

तर ओलीले रावलको भनाइप्रति असहमति जनाउँदै सहजीकरणको मात्रै नेतृत्व लिन निर्देशन दिएका थिए। ‘हिजोको नेकपा एमाले, नेकपा अनि अहिलेको नेकपा एमालेको अस्तित्व छ, त्यहाँ कमिटी छन् र जिम्मेवारी तोकिएका छन्, त्यसैले जिम्मेवारी पनि त्यसैअनुरूप नै हुन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘नेकपा एमालेले जुन कार्य विभाजन गरेर जिम्मेवारी तोकेको छ त्यो यथावत् रहन्छ।’