हेटौडा,२७ भदौ । नेकपा (एकीकृत समाजवादी)ले बागमती प्रदेश संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेको छ। पार्टीले औपचारिकता पाएपछि आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले धादिङबाट प्रतिनिधित्व गर्ने पाण्डेलाई सर्वसम्मतले संसदीय दलको नेता चयन गरेको हो।

प्रदेशसभा सचिवालयमा एमालेको विभाजन भएर गठन भएको नेकपा (एस) मा सनाखत गरेका १३ सांसदहरूलाई मान्यता दिँदै नामावलीसहितको पत्र निर्वाचन आयोगबाट प्राप्त भएसँगै दलको चयन गरिएको हो। बैठकले संसदीय दलको विधान पारित गरेको र अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता पाण्डेले जानकारी दिए।

नेकपा (एस) ले प्रदेशसभा सचिवालयभित्रै संसदीय दलको कार्यालयसमेत स्थापना गरेको छ। नेकपा (एस) आधिकारिक रूपमा प्रदेशसभा दर्ता भएसँगै बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ। बागमतीमा नेकपा (एस) १३ सांसदसहित चौथो दल भएको छ।