बुटवल,३० भदौ । सांसद विमला खत्री वलीले लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अपहरण तथा शरीर बन्धक कसूरमा जाहेरी दिएकी छन् ।
प्रदेश सभा सदस्य वलीले पोखरेलसहित एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, युवा संघका सचिवालय सदस्य तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावलले आफूलाई अपहरण गरेर बन्धक बनाएको भन्दै प्रहरीमा निवेदन दिएकी हुन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सांसद वलीले अपहरण तथा शरीर बन्धकविरुद्ध सोमवार इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी बुझाएको बताए । निवेदन लिएर माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती र सांसद विमला वलीसोमबार प्रहरी कार्यालय पुगेका थिए ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार वलीले आफूलाई साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल दाङबाट ल्याएर बन्धक बनाएको आरोप लगाएकी छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरले घटना दाङमै भएकाले बुधवार उतै पठाइएको जानकारी दिए । यसअघि राजनीतिक विषय भएकाले उजुरी नदिने बताउँदै आएकी वलीले घटनाको डेढ महिनापछि उजुरी दिएकी हुन् ।




















