काठमाडौं,१८ कात्तीक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको निर्वाचन संविधानले तोकेकै समयमा हुने बताएका छन् ।

बिहीवार नेकपा एकीकृत समाजवादी मध्यपुर थिमि नगर कमिटीले आयोजना गरेको दीपावली, नेपाल संवत् ११४२ र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैले चाहँदैमा संघीय संसदको निर्वाचन चाँडै नहुने बताए । उनले राष्ट्रिय सभाको निर्वाचन र स्थानीय तहको निर्वाचन चैतमा हुने बताउँदै निर्वाचन र केन्द्र तथा प्रदेशको उपनिर्वाचनमा ५ दलको गठबन्धन हुने र यसलाई कसैले भत्काउन तथा टुटाउन नसक्ने बताए ।

उनले भने, ‘कसैले भ्रम नपाले हुन्छ । आजै हुन्छ कि, छिट्टै चुनाव हुन्छ कि, छिट्टै चुनाव हुनेवाला छैन । संघीय संसदको चुनाव समयमै हुनेछ । त्यसको निम्ति हामी जसरी प्रत्येक काममा सफल हुँदै हिँडेका छौं, अगाडि बढेका छौं । त्यसैगरी निर्वाचनको मैदानमा पनि विभिन्न ठाउँको आकलन हामीले गरिरहेका छौं । हामी जित्नेछौं, बाँकी हामीसँग इश्र्या गर्नेहरूको हालत खत्तम हुनेछ ।’

अध्यक्ष नेपालले केपी ओलीको दम्भकै कारण एमालेले केन्द्रीय सरकार र प्रदेश सरकारमा आफ्नो पार्टीको हैसियत गुमाउनुपरेको बताए । उनले नवौं महाधिवेशनमा ओलीलाई जिताएर साथीहरूले भूल गरेको कारणले नै एमाले पार्टीको दुर्भाग्य शुरू भएको टिप्पणी गरे ।

एमाले पार्टीले गलत बाटो लिन थालेपछि पार्टीभित्र आफूहरू निसास्सिएर बस्नै नसक्ने अवस्था आएपछि नयाँ पार्टी खोल्न बाध्य भएको उनको भनाइ थियो । उनले भने, ‘दुईतिहाइ बहुमत, सबै प्रदेशमा बनेको वामपन्थी सरकार केपी ओलीले सबै सिध्याइदिए । कस्तो मान्छेलाई नवौं महाधिवेशनमा हाम्रा साथीहरूले भोट दिएछन् ?’

उनले एमाले पार्टीमा रहेका असन्तुष्टहरूलाई आफ्नो पार्टीमा फर्किएर आए स्वागत गर्ने बताए । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले नराम्रो काम गरेमा तत्काल कारवाही गरी मन्त्री पदबाट हटाउने पनि उनले बताए ।