पोखरा,३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको वडा सम्मेलन भोलि शनिबार हुँदै छ । यसका लागि सबै तयारी पूरा भइसकेको माओवादीले जनाएको छ ।
कास्कीमा माओवादीले पार्टी सदस्यता बढाएको छ । नयाँ विवरणअनुसार यहाँ १० हजार ३८३ जना संगठित सदस्य बनेका छन् । यसअघि यहाँ आठ हजार २०० जना मात्र सदस्य थिए ।
‘पार्टीमा अहिले आमजनताको आकर्षण बढेको छ । सदस्यता लिनेहरू बढेका छन्,’ कास्की इन्चार्ज राजकाजी गुरुङले भने, ‘महिला, दलित, युवाहरूको यहाँ बढी आकर्षण छ ।’ उनले समानुपातिक, समावेशी सिद्धान्तलाई ख्याल गरेर वडा सम्मेलन गर्ने प्रतिबद्धता जनाए ।
कास्कीमा ७२ वटा वडा छन् । सबै वडाको सम्मेलन शनिबार नै हुनेछ । सकेसम्म सर्वसम्मत कार्यसमिति चयन गर्ने र नभए मतदान हुन सक्ने बताइएको छ । वडा सम्मेलनको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकैसाथ भर्चुअल रूपमा उद्घाटन गर्नेछन् ।



















