काठमाडौं,१३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान १ बजे दसौं महाधिवेशन बन्दसत्रमा पेश गरेको ३०१ जना केन्द्रीय सदस्यको सूची अनुमोदन भएको छ। अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको केन्द्रीय कमिटीको सूचीमा गायिका तथा सञ्चारकर्मी कोमल वली अटाएकी छन्। तर, २०७४ सालमा राप्रपा छोडेर एमाले प्रवेश गरेकी वलीको विधानअनुसार महाधिवेशन प्रतिनिधि हुन योग्यता पुग्दैन।
गत भदौ १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले विधान संशोधन गर्दै एमाले महाधिवेशनमा प्रतिनिधि बन्न कम्तीमा १० वर्ष पार्टी सदस्य भएको योग्यता भएको हुनुपर्ने व्यवस्था गरेको थियो। संशोधित विधानको धारा ६३ मा यस्तो व्यवस्था गरिएको छ। तर धारा ६३ को उपधारा १ मै महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिको हकमा ७ वर्ष पार्टी सदस्य भए पुग्ने व्यवस्था राखिएको छ।
यो व्यवस्थाअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेतृ कोमल वलीलाई केन्द्रीय सदस्य बन्ने ढोका बन्द भएको थियो। तर, वलीलाई एमाले अध्यक्ष ओलीले विधान मिचेर केन्द्रीय सदस्यमा चयन गरेका छन्। खुला महिलातर्फबाट उनलाई अध्यक्ष ओलीले केन्द्रीय सदस्य बनाएका छन्। उनी एमालेमा प्रवेश गरेदेखि नै आफू निकट रहेर काम गरेकाले ओलीले उनलाई राष्ट्रियसभा सदस्य पनि बनाएका छन्।
यता ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन लबिङ गरिरहेका एमाले प्रमुख सचेतक समेत रहेका नेता विशाल भट्टराई भने केन्द्रीय कमिटीबाटै आउट भएका छन्। पदाधिकारीमा समेत आकांक्षा राखेका भट्टराईले आफू केन्द्रीय कमिटीमा समेत नपरेपछि अपमानित महसुस गरेको उनी निकटस्थहरू बताउँछन्। लोकपाटी बाट


