तनहुँ, ६ फाल्गुन। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान समयमा गठबन्धनविरुद्ध जानु काँग्रेसका लागि फाइदा नहुने बताएका छन्। नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज बिहीबार दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले काँग्रेसले एक्लै चुनाव लड्ने आत्मविश्वास भने राख्नुपर्ने बताए।
‘काँग्रेसले एक्लै चुनाव लड्छौं भनेर मात्र हुँदैन, कम्युनिस्ट एकता कायम गराउन बाध्य पार्नुहुँदैन,’ उनले भने, ‘एक्लै चुनाव लड्ने आत्मविश्वास भने राख्नुपर्छ।’ काँग्रेस विगतमा पनि एक्लै लडेको चर्चा गर्दै उनले परिस्थितिअनुसार अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए। पौडेल भने, ‘समावेशीताका कारण एउटै पार्टीको बहुमत आउने अवस्था छैन, तालमेल गरेर काँग्रेसलाई ठूलो पार्टी बनाउनुपर्छ।’
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले देशभर भएका विकासको काम काँग्रेसले गरेको बताउँदै जनतालाई यसबारेमा बुझाउन आवश्यक रहेको बताए। भएका कमजोरी सुधार्दै अगाडि बढ्नुपर्ने बताउँदै उनले काँग्रेसभित्र हातेमालो र हार्दिकता सिर्जना गर्नुपर्नेमा जोड दिए। चुनाव जित्ने नाममा गठबन्धन गर्न आवश्यक नरहेको भन्दै उनले काँग्रेसले एक्लै चुनाव जित्ने दाबी गरे। यस्तै केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेस एक आपसमा मिले मात्र चुनाव जित्न सकिने बताए।



















