काठमाडौँ,१४ फागुन ।नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामानै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)पास गर्ने अवस्थामा नरहेको बताएका छन्।सनिबार प्रगतिशील पेसागत कानुन व्यवसायी सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधनगर्दै उनले सो कुरा बताएका हुन् ।अध्यक्ष ओलीले देश र जनताको हितभन्दा बाहिर आफ्नो पार्टी नजाने समेत उनले बताए ।
‘हामी संसद्को प्रक्रियामा सहभागी हुन पाएका छैनौँ’, उनले भने, ‘संसद् सहभागी हुन नपाएपछि हामीले राय कहाँ व्यक्त गर्ने । संसदमानै हामीलाइ सहभागी नगराएपछि एमसिसी पास गर्ने र फेल गराउने कसरी ?’अध्यक्ष ओलीले एमालेले राष्ट्र र जनताको हित तथा अन्तर्राष्ट्रिय सम्बन्ध हेरेर जे गर्दा राष्ट्रका लागि उचित हुन्छ, त्यही मात्र गर्ने बताए । उनले नेपाल न्यायको भूमि भएपनि न्याय मरेको बताउँदै सर्वोच्च अदालतले अन्तिम फैसला गर्ने निकाय भएको तर त्यसले व्याख्या गर्ने नाममा संविधानबमोजिम नगरेको उल्लेख गरे ।
अध्यक्ष ओलीले सर्वोच्च अदालतले स्वेच्छाचारी निर्णय गर्दै जाँदा न्यायपालिकामा विकृति आउने समेत बताए । ‘सर्वोच्च अदालत विकृत भयो भने देश, समाज के हुन्छ ? हाम्रो विधि कहाँ पुग्छ ?’, उनले प्रश्न गरे । उनले एमाले नेपालको न्याय क्षेत्र स्वच्छ, पवित्र र निष्पक्ष ढङ्गले संविधानबमोजिम हुनुपर्ने मान्यता राखेको बताए ।
अध्यक्ष ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई लगाइएको महाअभियोग पारित गर्न नल्याएको स्पष्ट पारे । ‘राणालाई लगाएको महाअभियोग संसद्मा निर्णयार्थ प्रस्तुत हुने छैन’ उनले भने, ‘महाअभियोग निर्णयार्थ प्रस्तुत गर्न ल्याएको होइन ।’ सबै क्षेत्रमा न्याय र समानतासहितको समृद्ध नेपाल हुनुपर्नेमा उनले जोड दिए । सम्मेलनले नयाँ नेतृत्व चयनसमेत गर्ने छ ।



















