काठमाडौं,२१ फागुन । देश र जनताका लागि नेकपा एमालेले आगामी तीनै तहकाे चुनाव जित्न जरुरी रहेकाे सचिव गोकर्ण विष्टले बताउनुभएकाे छ । नेकपा एमाले गुल्मी-काठमाडौं सम्पर्क मञ्चकाे ११औं सम्मेलनलाई सम्बाेधन गर्दै उहाँले भन्नुभयाे - 'देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा एमालेले जित्नैपर्ने हुन्छ,बहुमत प्राप्त गर्न जरुरी छ ।'
आगामी तीनै तहकाे चुनावमा एमालेका उम्मेदवारले जित्नैपर्ने भन्दै उहाँले साेही अनुसार तयारीमा लाग्न नेता-कार्यकर्तालाई आग्रह गर्नुभयाे । आगामी चुनावमा पार्टीलाई विजयी गराउने काममा सिंगो पार्टी पंक्ति लाग्नुपर्ने सचिव विष्टले बताउनुभयाे ।
सत्ता गठबन्धनमा आबद्ध दलहरु नेकपा एमालेसँग चुनवा लड्न डराएका उहाँले बताउनुभयाे । आगामी चुनावमा एमाले एक्लै लड्ने भन्दै उहाँले सत्ता गठबन्धनसँग चुनावको सामना गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयाे । 'गठबन्धनका रूपमा एमालेका विरुद्ध चुनाव लड्न आए भने पनि नेकपा एमाले सामना गर्न तयार छ,नेकपा एमाले आफ्नो विजयलाई कायमै राख्न चाहन्छ, मुलुकको भाग्य र भविष्यको निम्ति पनि यो निर्वाचन एमालेले जित्न जरुरी छ ।'
नेकपा एमालेकाे अगुवाइमा देशलाई अगाडि बढाउन सके अझ धेरै कुरामा कायापलट हुने उहाँले बताउनुभयाे । एमालेकाे अगुवाइमा देशमा भएकाे स्राेत-साधनलाई सही ढंगले प्रयाेग गर्न सकेमा देश बदलिने सचिव विष्टकाे भनाइ छ ।



















