सन्तोष अधिकारी

काठमाडौं,५ चैत । आफ्नो राजनीतिक धार निर्माण गर्न नसकेको नेकपा एकीकृत समाजवादी स्थानीय चुनावमा जसरी पनि गठबन्धन गरेर अस्तित्व जोगाउने रणनीतिमा लागेको छ। एकीकृत समाजवादीको केही दिनअघिको बैठकमा अध्यक्ष माधव नेपालले पेस गरेको प्रतिवेदनमा एकल रूपमा चुनावमा जाने परिकल्पना गरिएको छैन। यस्तै प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको बैठकमा पनि अध्यक्ष  नेपालले गठबन्धन कायमै राख्नुपर्नेमा जोड दिँदै आएका छन्। 

अध्यक्ष नेपालको प्रतिवेदनमा उल्लेख छ, ‘हालको सत्ता गठबन्धन र सहकार्यलाई आगामी स्थानीय तहको निर्वाचनसम्म मात्र होइन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म पनि कायम राख्नुपर्ने आवश्यकता छ।’ 

एमालेबाट चोइटिएर बनेको एकीकृत समाजवादी नयाँ दल हो। एमाले अध्यक्ष केपी शर्मा ओलीको विकल्पमा आफूलाई प्रस्तुत गर्न खोजेका नेपालका लागि एकीकृत समाजवादी दल किन भन्ने प्रश्नको उत्तर दिन पनि सजिलो छैन। राजनीतिक विश्लेषक डा. विष्णु दाहाल भन्छन्, ‘माधव नेपालको पहिचान कुन लाइनमा उभिने भन्ने स्पष्ट छैन। नेकपा एस किन हो भन्ने उत्तर उनीसँग  छैन।’

‘एकातिर माधव नेपाललाई पार्टी फुटाएको औचित्य पुष्टि गर्नुपरेको छ भने अर्कोतिर सांगठनिक आधार पनि निकै कमजोर रहेको अवस्था छ। अनि एक्लै चुनाव लडेर लज्जास्पद हार व्यहोर्नुभन्दा थोरै सिटमा भए पनि तालमेल गर्दा अस्तित्व जोगिन्छ कि भन्ने आस हुनु स्वाभाविकै हो।’

ओलीको विकल्पका रूपमा मात्र उनले आफूलाई उभ्याइरहेको बुझाइ दाहालको छ। उनी भन्छन्, ‘नेकपा एसले पछिल्लो राजनीतिक धार निर्माण गर्न सकेको देखिँदैन। त्यसैले कुनै दलसँग नजोडिए उसको अस्तित्व नै संकटमा पर्ने निश्चित छ।’

आसन्न स्थानीय तहको निर्वाचन एकीकृत समाजवादीका लागि पहिलो हो। सबै तहका कमिटी गठनमा रहेको एसको तल्ला तहसम्म संगठन निर्माण भइसकेको छैन भने कतिपय स्थानमा संगठन निर्माण भए पनि कमजोर छ। दाहाल भन्छन्, ‘एकातिर माधव नेपाललाई पार्टी फुटाएको औचित्य पुष्टि गर्नुपरेको छ भने अर्कोतिर सांगठनिक आधार पनि निकै कमजोर रहेको अवस्था छ। अनि एक्लै चुनाव लडेर लज्जास्पद हार व्यहोर्नुभन्दा थोरै सिटमा भए पनि तालमेल गर्दा अस्तित्व जोगिन्छ कि भन्ने आस हुनु स्वाभाविकै हो।’

स्थानीय चुनावअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र नेपाललाई तालमेल गर्ने संकेत देखिएको छैन। एमाले अध्यक्ष केपी शर्मा ओली कसैसँग तालमेल नै नगरी स्थानीय तहको निर्वाचनमा पार्टीले धेरै ठाउँमा जित्ने दाबी गर्दै आएका छन्। २०७४ सालदेखि झन्डै तीन वर्ष एकै दलमा रहेका ओली, नेपाल र दाहाल यति बेला भिन्नाभिन्नै पार्टीको अध्यक्ष बनेका छन्। नेपाल र दाहाल सत्ता गठबन्धनमा रहे पनि ओलीसँग दुवैको पानी बारबारजस्तै सम्बन्ध छ। 

विश्लेषक दाहाल माधव नेपाललाई देशभित्र मात्र होइन, देशबाहिर पनि त्यति नरुचाइने भएकाले उनी संकटमा रहेको बताउँछन्। त्यसैले पनि तालमेल गर्नुको विकल्प नरहेको उनी बताउँछन्। दाहाल भन्छन्, ‘ओलीलाई सहयोग गर्नेमा प्रोइन्डियन छन्, प्रोअमेरिकन छन्। प्रचण्डलाई चीनले सहयोग गर्छ तर माधव नेपाललाई कसैले सहयोग गर्ने संकेत छैन।’ माधव नेपाललाई होली वाइनको आरोप लागेकाले पनि विदेशीले पत्याउन नसकेको ठहर दाहालको छ।

‘माधव नेपाल लगायतका सांसदलाई कारबाहीबाट जोगाएर राखिएको छ। त्यो भनेको दाहालकै बलले काम गरेको हो। त्यसैले दाहालको पछि लाग्नु माधव नेपालको बाध्यता हो।’

स्थानीय निर्वाचनमा पराजय भएमा नेकपा एसको भविष्य समाप्त हुनेछ भने तीन दशकदेखि कम्युनिस्ट पार्टीका शीर्ष स्थानमा रहँदै आएका माधव नेपालको राजनीतिक उचाइ पनि रसातलमा पुग्ने निश्चित छ। ‘यो कुरा राम्ररी बुझेका नेपालले पार्टीलाई जसरी भए पनि देउवा र दाहालको फेरो समातेर अघि बढ्नुपर्ने अवस्था आएको हो’, दाहालले भने।

उसो त माओवादी अध्यक्षा दाहालले माधव नेपाललाई जोगाउँदै आएका छन्। माओवादीबाट सिफारिस भएका सांसदमाथि सभामुख अग्नि सापकोटाले कारबाही गरे पनि एमालेबाट सिफारिस भएका माधव नेपाल लगायतलाई भने माओवादीकै बलमा जोगाइएको बुझाइ विश्लेषक दाहालको छ। उनी भन्छन्, ‘माधव नेपाल लगायतका सांसदलाई कारबाहीबाट जोगाएर राखिएको छ। त्यो भनेको दाहालकै बलले काम गरेको हो। त्यसैले दाहालको पछि लाग्नु माधव नेपालको बाध्यता हो।’

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा पनि चुनावसम्म गठबन्धन कायमै रहने बताउँछन्। उनी भन्छन्, ‘गठबन्धन कायमै राखेर चुनावमा जान सके प्रतिगामीहरुलाई सहजै परास्त गर्न सक्छौँ भन्ने हाम्रो उद्देश्य हो।’ शीर्ष तहमा यसै विषयमा कुराकानी हुने गरेको उनको भनाइ छ। असारदेखि अहिलेसम्म जारी सहकार्य विश्लेषण गर्दा गठबन्धन सफल भएको अनुभूति भएकाले पनि यसलाई निरन्तरता दिन खोजिएको उनले बताए।

‘स्थानीय तहको चुनाव सार्ने भनेर नै एमसीसी अनुमोदन गरेका हुन्। एमसीसी पारित गर्नेबित्तिकै नेताहरूको लोकप्रियता घटेको छ। त्यसैले यिनीहरूले चुनाव सारे भने अन्यथा मान्नु पर्दैन।’

उनले भने, ‘केही समय सहकार्य पनि विचार गरौँ भनेर हामीले परीक्षण गरिरहेका हौँ। यसमा हामी सफल भएको  मूल्यांकन छ। ’ त्यसैले स्थानीय तहको चुनावसम्म गठबन्धनको विकल्प नरहेको उनले बताए।

विश्लेषक दाहालका अनुसार स्थानीय चुनावमा कांग्रेससँग तालमेल गरे पनि त्यसपछि राजनीतिक ध्रुवीकरण बदलिन सक्ने सम्भावना प्रबल छ। उनी भन्छन्, ‘संसदीय निर्वाचनमा फेरि ओलीसँग तालमेल गर्ने पहिलाजस्तै रणनीति पनि हुन सक्छ। ओलीलाई दबाब दिने र देउवालाई पनि दबाब दिएर आफूअनुकूलको राजनीतिक अवस्था बनाउने खास रणनीतिमा नेकपा एस लागेको छ।’

अस्तित्व जोगाउने एउटा अस्त्र चुनाव सार्नु

पछिल्ला दिनमा गठबन्धनमा चुनाव सार्ने विषयमा पनि छलफल भइरहेको आशंका पनि छँदै छ। केही समय चुनाव सार्न सकेमा आफ्नो अस्तित्व तत्काल संकटमा नपर्ने बुझाइ नेपाल र दाहालको छ। विश्लेषक दाहाल भन्छन्, ‘स्थानीय तहको चुनाव सार्ने भनेर नै एमसीसी अनुमोदन गरेका हुन्। एमसीसी पारित गर्नेबित्तिकै नेताहरूको लोकप्रियता घटेको छ। त्यसैले यिनीहरूले चुनाव सारे भने अन्यथा मान्नु पर्दैन।’

हिमाल प्रेस