काठमाडौं,१४ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाँदै हुनुहुन्छ । संघीय सांसद् बृजेशकुमार गुप्ता, प्रदेश सांसद् धर्मबहादुरलाल श्रीवास्तवसहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्न एमाले अध्यक्ष ओली आज कपिलवस्तु जान लाग्नुभएकाे हाे ।

गुप्ता र श्रीवास्तवसहित हजाराैं नेता-कार्यकर्ता एमालेमा प्रवेशन गर्ने कार्यक्रम रहेकाे नेकपा एमाले कपिलवस्तुले जनाएकाे छ । चैत ७ गते बसेकाे पाेलिटब्यूराे बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले पार्टी प्रवेश कार्यक्रमका लागि चैत १४ गते कपिलवस्तु जाने जानकारी गराउनुभएकाे थियाे ।

सांसद् गुप्ता ०७४ को प्रतिनिधि सभा चुनावमा सूर्य चिन्ह लिएर स्वतन्त्रबाट विजयी हुनुभएकाे थियाे । श्रीवास्तव पनि ०७४ काे प्रदेश सभा चुनावमा सूर्य चिह्न नै लिएर कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित हुनुभएकाे थियाे ।

कपिलवस्तु पुग्नुअघि अध्यक्ष ओलीले भैरहवामा आयोजित पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुनेछ । त्यसपछि उहाँ कपिलवस्तुकाे ताैलिहवा जानुहुनेछ । अध्यक्ष ओली आज साँज बुटवल बसेर भाेलि बिहान विभिन्न कार्यक्रममा सहभागी भएर मात्रै काठमाडाैं फर्कनुहुने उहाँकाे सचिवालयले जनाएकाे छ ।