काठमाडाैं,४ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्न एमाले नै चाहिने बताउनु भएकाे छ । हुम्लाको अदानचुलीमा आइतबार आयाेजित पार्टीकाे बृहत् जनसभालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले देशकाे विकास, राष्ट्रियताका रक्षा र जनताका समस्या समाधान गर्ने पार्टी एमाले मात्रै रहेकाे बताउनुभयाे । महिला,बालबालिका, ज्येष्ठ नागरिक,गरिबदुखीकाे संरक्षण गर्ने पार्टी पनि एमाले रहेकाे उहाँले बताउनुभयाे ।
स्थानीय तहकाे चुनावबाट जनताका नजिकका जनप्रतिनिधि छानिने भएकाले यसकाे असाधारण महत्व रहेकाे अध्यक्ष ओलीले बताउनुभयाे । स्थानीय तहको चुनावबाट देशको भविष्य निर्धारण हुने पनि उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - '३० गते हुने स्थानीय तहको चुनावबाट देशको भविष्य निर्धारण हुन्छ, देश विकास, विनाश, स्वच्छता, भ्रष्टाचारतिर जाने भन्ने कुराको निर्धारण हुन्छ, निष्पक्ष र स्वच्छ वातावरणमा जनप्रतिनिधि छनोट गर्ने जिम्मेवारी नेपाली जनतामा आएको छ ।'
वैशाख ३० गते हुने स्थानीय तहको चुनाव कसैले रोक्न नसक्ने पनि अध्यक्ष ओलीले बताउनुभयाे । कसैले राेक्ने काेशिस गरे एमालेले प्रतिकार गर्ने र चुनाव गराउन दबाब दिने प्रतिबद्धता उहाँले जनाउनुभयाे ।
देशमा विकासकाे गति अगाडि बढाउन एमालेले जित्नैपर्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयाे - 'देश,जनता, विकास, समृद्धि र राष्ट्रियताकाे रक्षाका लागि एमालेले चुनाव जित्नैपर्छ, वैशाख ३० को चुनाव जितेनौँ भने विकासको गति अगाडि बढ्न गाह्रो हुन्छ,किनकी देश विकास गर्न एमाले चाहिन्छ, त्यसैले स्थानीय तह मात्र हाेइन सबै चुनावमा एमालेलाई जिताउनुपर्छ ।'
देश र जनताका पक्षमा काम गरेकै कारण आफू नेतृत्वकाे सरकार ढालिएकाे स्मरण गर्दै अध्यक्ष ओलीले आगामी चुनावपछि एमालेले फेरि सरकारकाे नेतृत्व गर्ने बताउनुभयाे । विकास विराेधीहरुले जालझेल र परमादेशबाट एमाले सरकार ढालेका उहाँले प्रष्ट पार्नुभयाे । देशभर एमालेकाे पक्षमा जनलहर उर्लिएकाे भन्दै उहाँले जति दलले गठबन्धन गरेपनि एमालेलाई फरक नपर्ने बताउनुभयाे ।


