काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आफ्नो पार्टीलाई संसदमा लैजान आग्रह गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज ओलीलाइ भेटेर एकनाथले संसदमा प्रतिनिधित्व गराउन अर्थात् सांसद पद दिन आग्रह गरेका हुन् ।

एकनाथ नेतृत्वको परिवार दलले गत आम चुनावमा तत्कालीन एमालेलाई समर्थन गरेको थियो । परिवार दलले समर्थन गरे लगत्तै एमाले र माओवादी बीच वाम गठवन्धन बनेको थियो । परिवार दलले पनि गठवन्धनलाई नै समर्थन गरेको थियो । 

चुनावका बेला तत्कालिन एमाले र नेपाल परिवार दल बीच तीन बूँदे सहमति भएको थियो । सहमतिमा परिवार दलको संसदमा प्रतिनिधित्वको सुनिश्चित गरिने उल्लेख थियो ।

एकनाथका निजि सचिब जितेन्द्र श्रेष्ठले एक प्रेस नोट जारी गर्दै ओलीसँगको भेट र मागबारे सार्वजनिक गरेका हुन् । उनको प्रेस नोटमा नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई पनि भेटेर संसदमा प्रतिनिधित्व गराउन ध्यानाकर्षण गरिने उल्लेख छ । प्रेस नोटसँगै प्रधानमन्त्रीसँगको भेटको फोटो पनि सार्वजनिक गरिएको छ ।

एकनाथले संसदमा प्रतिनिधित्व गराउन माग गरे पनि माग पूरा गर्न भने सहज छैन । प्रतिनिधिसभामा एकनाथलाई लैजाने कुनै उपाय देखिँदैन । नेकपाले चाह्यो भने उनलाई राष्ट्रिय सभामा लैजान सक्छ तर त्यो पनि अहिले होइन । दुई वर्ष कार्यकाल भएका राष्ट्रिय सभाका सदस्यहरुको कार्यकाल सकिएपछि त्यो ठाउँमा एकनाथलाई लैजान सम्भव हुन्छ तर यो काम राजनीतिक रुपमा भने सजिलो देखिँदैन ।