केदार प्रसाद गुरागाईं सुन्दरहरैंचाबासीका लागि चीरपरिचित नाम हो । साविक इन्द्रपुर क्षेत्रका दर्जनौं संघ संस्थामा रहेर जनताको सेवामा समर्पित गुरागाईं एक शालिन र निष्ठावान व्यक्तित्वको रुपमा चिनिनुहुन्छ । उहाँले नेतृत्व गरेका संस्थाहरु यस क्षेत्रकै नमुना संस्थाका रुपमा स्थापित छन् । इन्द्रपुर खानेपानी होस् वा हातेमालो सहकारी वा सुकुना बहुमुखी क्याम्पस नै किन नहोस् । यस क्षेत्रको पहिचानको रुपमा स्थापीत भएका यी संस्थाहरुमा नेतृत्व तहका विभिन्न भूमिकामा रहेर गुरागाईंले आफ्नो खुबी देखाइसक्नु भएको छ । शाही शासनकालमा लोकतान्त्रिक आन्दोलनमा सहभागी भएवापत जेल जीवन समेत बिताएका गुरागाईं हाल नेकपा एमाले प्रदेश कमिटी सदस्य हुनुहुन्छ । यीनै गुरागाईं यतिबेला नेकपा एमालको तर्फबाट सुन्दरहरैंचा नगरपालिकामा नगर प्रमुख पदको उम्मेदवार हुनुहुन्छ । यहाँ म गुरागाईंले नेतृत्व गर्नु भएको मध्येको एक संस्था इन्द्रपुर खानेपानीको बारेमा चर्चा गर्दैछु । जसले गुरागाईंमा भएको नेतृत्व गर्ने खुवी बारे जानकारी दिनेछ भने उहाँलाई नगर प्रमुखमा किन जिताउनु पर्छ ? भन्ने कुराको उत्तर दिनेछ ।
इन्द्रपुर खानेपानीको आवश्यकता
हाल सुन्दरहरैंचा नगरपालिकामा पर्ने साविकको इन्द्रपुर गाविसका बासिन्दालाई घर घरमा शुद्ध खानेपानी पुर्याउने उद्देश्यले विक्रम संवत् २०६५ सालमा इन्द्रपुर सानाशहरी खानेपानी तथा सरसफाई आयोजनाको स्थापना गरिएको हो । स्थानीय भोलेश्वर दुलाले ५ कठ्ठा र अन्य दाताहरुबाट अरु ५ कठ्ठा गरि आयोजना सञ्चालनका लागि आवश्यक १० कठ्ठा जग्गा उपलब्ध भएपछि काम अघि बढेको हो । जसको नेतृत्व केदार प्रसाद गुरागाईंले गर्नुभयो ।
खासगरि साविकको इन्द्रपुर गाविसको उत्तरी क्षेत्रमा खानेपानीको चरम समस्या रहेको थियो । सो क्षेत्रमा कल गाडेर पानी निकाल्न समेत खाडल खन्नु पर्ने अवस्था थियो । जहाँ ८,१० फिट गहिरो खाडल खनेर सो खाडल भित्र कल गाडेर पानी निकाल्ने गरिन्थ्यो । यसरी कल गाडेर निकालिएको पानी समेत हिउँद महिनामा सुक्ने गथ्र्यो । जसका कारण यस क्षेत्रमा खानेपानीको चरम अभाव थियो । यहाँका मानिसहरुलाई हरेक दिन साँझ विहान खानेपानीको जोहो गर्नु नै ठूलो काम हुन्थ्यो । साइकलमा गाग्री झुण्ड्याएर त कसैले भारमा बोकेर समेत पिउने पानीको जोहो गर्नुपर्ने बाध्यता थियो ।
साथै साविक इन्द्रपुरका दक्षिणी क्षेत्रमा समेत शुद्ध पिउने पानीको अभाव थियो । मानिसहरु कलबाट निकालिएको आर्सनिकयुक्त पानी पिउन बाध्य थिए । यसैगरि केही समय अघिसम्म गाउँको रुपमा रहेको यो क्षेत्र तीव्रतर रुपमा शहरीकरण हुँदै गएपछि मानिसहरुले सोही अनुसारको सेवा सुविधा र विकासको अपेक्षा पनि गर्न थाले । यस्तै अभाव र अपेक्षाका कारण नै इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको स्थापना हुनपुग्यो । स्थानीय सामाजिक तथा राजनीतिक अगुवा केदारप्रसाद गुरागाईंको अध्यक्षतामा विक्रम संवत् २०६५ सालमा संस्था दर्ता गरि काम सुरु गरिएकोमा विक्रम संवत् २०७१ सालदेखि पानी वितरण सुरु गरिएको हो ।
आयोजना निर्माण गर्दाका दुःख
शुद्ध खानेपानी वितरणका लागि आयोजना सञ्चालन गर्न जुटिरहँदा विभिन्न समस्या झेल्नुपर्यो । खानेपानी आयोजना बनाउँछौं भनेर रमक संकलन गर्नु एउटा चुनौती थियो । यस्तै कतिपय मानिसहरु भने, खानेपानी पनि किन्नु पर्छ र ? भनेर प्रश्न गर्दथे । यसरी प्रश्न गर्नेहरुलाई सम्झाउँदै बुझाउँदै आयोजनाको काम अघि निकै चूनौतिपूर्ण रहेको सामाजिक व्यक्तित्व टीकाप्रसाद कट्टेलको अनुभव छ । गुरागाईंको सरल र सहज स्वभावका कारण नै यस्ता टीका टीप्पणीहरुलाई हाँसेर पचाउँदै आयोजना सम्पन्न गर्न मद्दत पुगेको थियो । निकै चूनौती र समस्याहरुलाई झेल्दै अन्ततः खानेपानी आयोजनाले मूर्तरुप लियो । यतिबेला घर–घरमा धारामार्फत खानेपानी पुगेर उपभोग भइरहेको अवस्था छ ।
आयोजनाको प्रगति
तत्कालिन समयमा नेपाल सरकारबाट एशीयाली विकास बैंकमार्फत ५० प्रतिशत र उपभोक्ता समितिमार्फत ५० प्रतिशत लगानी गरेर कुल २४ करोड हाराहरीको लगानीमा खानेपानी आयोजनाको काम सुरु गरिएको थियो । जसमा उपभोक्ता समितिले लगानी गर्नुपर्ने ५० प्रतिशतमध्ये उपाभोक्ताबाट ५ प्रतिशत अग्रीम रुपमा संकलन गरिएको थियो भने बाँकी ४५ प्रतिशत नगर विकास कोषसँग ५ प्रतिशत व्याज दरमा ऋण लिइएको थियो । आयोजना सञ्चालनकालागि ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण गरिएको छ । यसैगरि ४, ४ लाख लिटर क्षमताका २ वटा सीडब्लुआर ट्यांकी निर्माण गरिएको छ । ओभरहेड ट्यांकीको क्षमताअनुसार १० हजार धारा जडान गर्न सकिनेमा हालसम्म ६ हजार हाराहारीमा धारा जडान गरिसकिएको छ । यतिका धारा जडान गरिरहँदा करिव २ सय किलोमिटर लामो पाइपलाइन पनि विस्तार गरिएको छ । पानी उत्पादनका लागि ४ वटा वेल निर्माण गरिएको छ । जसबाट दैनिक ८८ लाख लिटर पानी उत्पादन हुने क्षमता छ । जसमा हाल दैनिक २४ लाख लिटर उत्पाद नहुने गरेको छ । यसरी ४ वटा वेलबाट उत्पादित पानीलाई शुद्धिकरण गरि पिउन योग्य बनाएर ओभरहेड ट्यांकीमा पुर्याएर वितरण गर्ने गरिन्छ ।
आयोजनाको प्रशासन सञ्चालन तथा सेवा प्रवाहकालागि प्रशासनिक र प्राविधिक लगायतका गरि १५ जना कर्मचारी नियुक्त गरिएको छ । खासगरी खानेपानी अत्यावश्यक सेवामा पर्ने भएको तथा वितरण प्रणालीमा जुनसुकै बेला समस्या देखापर्ने भएकाले प्राविधिक कर्मचारीहरु २४ घण्टै तम्तयार अवस्थामा रहने गरेका छन् । उनीहरु दिनरात नभनी खबर पाउना साथ सो ठाउँमा पुगेर मर्मतको काम गर्ने गरेका छन् । नाफा भन्दापनि सेवाको भावना राखेर आयोजना सञ्चालन गरिएकाले आयोजनामार्फत वितरित पानीको महशुल समेत अन्य ठाउँको तुलनामा शुलभ रहेको छ ।
आयोजनाबाट साविकको इन्द्रपुर गाविस अर्थात हालको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९, १०, ११ र १२ का बासिन्दाहरु लाभान्वित छन् । हालसम्म करिव ६ हजार जनाले धारा जडान गरिसकेका छन्, जुन संख्या थपिने क्रम जारी छ । उपभोक्तलाई घरबाटै महसुल भुक्तानी गर्न सजिलो होस् भनेर इसेवामार्फत अनलाइन पेमेन्ट गर्ने व्यवस्था समेत मिलाएको छ ।
आयोजना सञ्चालन भएपछिको खुशी
लामो समयको प्रतिक्षा पछि आयोजनाले मूर्त रुप लियो । आयोजना सञ्चालनमा आएसँगै आँगनमै धारा अनि धारामा कञ्चन पानी झर्न थालेपछि हरेक साँझविहान खानेपानीकै जोहो गर्नका लागि धपेडी गर्नुपर्ने बाध्यतामा रहेका उत्तरी क्षेत्रका बासिन्दामा खुशीको सिमा रहेन । साथै कलको आर्शनिकयुक्त पानी पिउन बाध्य भएका दक्षिणी क्षेत्रका बासिन्दाहरु पनि घर कोठामै शुद्ध पानी पुगेकोमा हर्षित भए् । कलको आर्शनिक र आइरनयुक्त पानीका कारण भाँडाकुँडा, कपडादेखि, बाथरुम, शौचालयसम्म पहेंलपुर हुने समस्या भोगिरहनु परेको बेला आयोजना सञ्चालन भएपछि ति समस्या हटेका छन् । साथै शहरी सेवा सुविधाको खोजी गर्दै विभिन्न ठाउँबाट यस क्षेत्रमा आएर बसोबास गरेकाहरु पनि सुविधाजनक तरिकाले शुद्ध र सफा पानी प्रयोग गर्न पाएपछि खुशी छन् ।
आयोजना निर्माणको सुरुवाती अवस्थामा उपभोक्ता समितिमा रहेर काम गर्दा निकै समस्या झेल्नु पर्यो । तिनै समस्याका बिच आयोजनाले मूर्तरुप लिएपछि उपभोक्ता समितिमा रहेर काम गरेका पादधिकारीहरुले समेत गौरव गर्ने अवस्था सिर्जना भएको उपाध्यक्ष विन्दा दाहाल थापाको भनाइ छ ।
सामाजिक क्षेत्रमा इन्द्रपुर खानेपानीको योगदान
आयोजनाले १५ वटा धार्मिक, सामाजिक संस्था र विपन्न परिवारका लागि ६ सय भन्दा बढी धाराहरु निःशुल्क जडान गरेको छ । आयोजनाले सरसफाईको क्षेत्रमा समेत उल्लेख्य काम गरेको छ । उपभोक्ता समितिमार्फत १५ प्रतिशत र नेपाल सरकारको अनुदानबाट ८५ प्रतिशतलागत साझेदारीमा ६ करोड हाराहारीको काम गरिएको छ । जस अन्तरगत खोर्साने चौकदेखि उत्तर लोहोन्द्रा रेञ्जपोष्टसम्म नाला निर्माण, खोर्साने चौकमा डिभाइडर निर्माण, विराटचौकबाट त्रिवेणि चौकसम्म नाला निर्माण गर्नुका साथै नगरपालिकालाई फोहोर व्यवस्थापनका लागि २ वटा ट्रयाक्टर हस्तान्तरण गरिएको छ । यस्तै आयोजनाले सुकुना बहुमुखी क्याम्पस, सुकुना माध्यामिक विद्यालय, महेन्द्र मावि शुक्रबारे, हिमालय आधारभूत विद्यालय बेलेपुर र जनतामावि बुधबारेमा गरेर ५ वटा शौचालय निर्माण गरेको छ । आयोजनाले सुन्दरहरैंचा उद्योग वाणिज्य संघले सञ्चालन गरेको सार्वजनिक शौचालय निर्माण महाअभियानलाई ११ लाख रकम सहयोग गरेर सामाजिक उत्तरदायीत्व समेत निर्वाह गरेको छ । इन्द्रपुर खानेपानीले सहयोग गरेपछि त्यसको प्रेरणले नै अन्यबाट समेत सहयोग जुटाउन मद्दत पुगेको र सार्वजनिक शौचालय निर्माणको अभियानले सार्थकता पाएको सुन्दरहरैंचा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नवराज चापागाईंको भनाइ छ ।
पानीको गुणस्तरियातामा उत्कृष्ट
आयोजनाबाट वितरण हुने खानेपानीको शुद्धता र गुणस्तरियता कायम गर्न विभिन्न विधि अपनाउने गरिएको छ । पानीको शुद्धता जाँचगर्न फिजिकल, केमिकल र माइक्रो बायोलोजिकल परिक्षण गर्ने गरिएको छ । पानीको धमिलोपना, अम्लियपना, आइरन, कलर, एफआर सी अर्थात क्लोरिनको मात्रा र एमोनियाको जाँच दिनहुँ गर्ने गरिएको छ । पानीलाई शुद्ध बनाउन दैनिकरुपमा मात्रा मिलाएर क्लोरिनको प्रयोग गर्ने गरिएको छ । इटहरीस्थित खानेपानी डिभिजनको कार्यालयमा पानीको नमुना लगेर ६,६ महिनामा विभिन्न १७ प्रकारका परिक्षणहरु समेत गर्ने गरिएको प्राविधिक ललित राई बताउनुहुन्छ । यस खानेपानी आयोजनले पूर्वमै पहिलोपटक रिचार्ज पिट समेत निर्माण गरेको छ । जसले खेर गएको पानीलाई जमिनमुनी पठाएर पानीको श्रोत संरक्षण गर्ने काम गर्दछ ।
भावि कार्ययोजना
यो आयोजना देशमै उत्कृष्टमा छनौट भएकाले खानेपानी विभाग अन्तरगत संस्थागत सहयोग तथा परामर्श सेवाशाखामार्फत एशीयाली विकास बैंकको सहयोगमा हुने पानी चुहावट नियन्त्रण आयोजनाले पाइलट प्रोजेक्टमा समेत छनौट भएको छ । जसअन्तरगत खानेपानी वितरणलाई व्यवस्थित र चुहावट रहित बनाइँदैछ । जसको काम धमाधम भइरहेको छ । खानेपानी वितरण प्रणालीको कुनै एक ठाउँमा समस्या आउँदा सम्पूर्ण प्रणली नै बन्द गर्नु परिरहेको अवस्थालाई सुधार गर्न वितरण प्रणालीलाई १२ वटासम्म ब्लकमा विभाजन गरि व्यवस्थित गर्ने काम अघि बढाइँदैछ । जसबाट समस्या देखिएको क्षेत्रमा मात्र पानी वितरण बन्द गरि मर्मतको काम गर्न सहज हुनेछ । केहीवर्ष भित्रै हालको क्षमतालाई दोब्बर पार्ने गरि ओभरहेड ट्यांकी निर्माण गर्ने र सोहीअनुसार पाइपलाइन विस्तार गर्ने योजना रहेको छ । गुरागाईंले सुन्दरहरैंचाका अन्य खानेपानी आयोजनालाई पनि इन्द्रपुर खानेपानी झैं बनाउने सपना समेत देख्नु भएको छ ।
केहि भ्रम र यथार्थ
इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजनाले उपभोक्ताहरुलाई शुद्ध खानेपानी वितरण कार्यलाई मुख्य प्राथमिकतामा राखेको छ । जसका कारण पनि देशकै उत्कृष्टमा पर्न सफल भएर पुरस्कृत समेत भएको छ । पछिल्लो समय खानेपानीको साधारणसभा हुन नसकेको सत्य हो । कोरोना महामारी लगायतका कारण साधारणसभाको मिति तोकेर पनि सार्नु परेको अवस्था रह्यो । तर आयोजनाले वार्षिकरुपमा लेखा परिक्षण गरि सम्बन्धित निकायमा प्रतिवेदन बुझाउने काम गरिरहेको कोषाध्यक्ष कृष्णप्रसाद भट्टराई बताउनुहुन्छ ।
निर्वाचनमा पराजित हुने भएपछि कतै जितिहालिन्छ की भनेर कतिपयले भ्रम फैलाउने काम गरेका छन् । यहाँ गुरागाईंको सफल नेतृत्वमै बनेको खानेपानी आयोजनाका कारण पानीको अभाव टार्नेहरुले गुरागाईंका कारण तीर्खा मेट्न पाइएकोमा धन्यवाद दिएहुन्छ । हाम्रो हिन्दू मान्यता अनुशार पानी खुवाउनुलाई ठूलो धर्म मानिन्छ । नचिनेकै मान्छेले पनि पानी मागेमा नसोधी दिनुपर्छ भन्ने विश्वास बोकेको हाम्रो समाजमा केदार प्रसाद गुरागाईंले त्यस्ता चिनिएका नचिनिएका लाखौंलाई शुद्ध पानी खुवाएका छन् । तसर्थ यस्तो महान् कार्यको नेतृत्व गर्ने गुरागाईको जति नै आलोचना गरेपनि सत्य सत्य नै हुनेछ । यसपटक पक्कै पनि गुरागाईंको पुण्य कर्म देखेर चुनाव जितेस् भनेर राजीले पनि आशिर्वाद दिनुहुनेछ ।
अन्त्यमा,
सुन्दरहरैंचा, विकासको बगैंचा भनिरहँदा, इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना सोही बगैंचामा फूलेका विकासका फूलहरु मध्येको एउटा सुन्दर अनि अति सुगन्धित फूल हो । जुनफूलले सुन्दरहरैंचाको विकासको बगैंचामा शोभा बढाएको छ । अनि सुन्दरहरैंचाबासीमा विकासको सुगन्ध छरिरहेको छ । अझै अब सुन्दरहरैंचाको विकासको बगैंचामा इन्द्रपुर खानेपानी जस्ता सयौं फूलहरु फूलाउनु छ । जसका लागि केदार प्रसाद गुरागाईंलाई विजयी गराउनुको विकल्प छैन ।



















