काठमाडौं,७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।
मंगलबार काठमाडौंको पूर्व राजदूत समूहले आयोजना गरेको नेपालको परराष्ट्र मामिला सम्बन्धी संवाद कार्यक्रमका बोल्दै अध्यक्ष ओलीले परराष्ट्र मामिलामा राष्ट्रिय सहमति नै आवश्यक हुने बताउनुभयो । हिजो निरङ्कुश शासन व्यवस्थामा समेत परराष्ट्र नीतिमा राष्ट्रिय एकता खोज्ने गरिएको उहाँले स्मरण गर्नुभयो ।
नेपालको राजनीतिमा हिंसा रोजाइको विषयको रूपमा अघि बढेको बताउँदै उहाँले त्यो दुर्भाग्यपूर्ण भएको बताउनुभयो । संविधानले शान्तिपूर्ण बाटो दिँदा दिँदै राजनीतिमा हिंसा रोजिएको उहाँले प्रष्ट पार्नुभयो । ‘१० वर्ष देश हिंसामा फस्यो, केका लागि, कसका विरुद्ध, त्यो अहिलेसम्म प्रष्ट हुने सकेको छैन’, उहाँले भन्नुभयो ।
माओवादीले गणतन्त्रको लागि लडेको भन्ने हो भने गणतन्त्र स्थापना नै नभई माओवादीले सशस्त्र आन्दोलन छाडेको उहाँले बताउनुभयो । माओवादीले हतियार बिसाए पछि मात्र नेपालका गणतन्त्र स्थापना भएको उहाँले प्रष्ट पार्नुभयो ।
कुनै राजनीतिक दलको नेताले मैले जे बोल्यो त्यही हो भन्ने हो भने त्यसमा कुनै तर्क नहुने बताउँदै ओलीले १० वर्षे हिंसाले नेपालमा केही दिन नसकेको दाबी गर्नुभयो ।
लोकतन्त्रमा कसै विरुद्ध निषेधको राजनीति गर्न नहुने ओलीले प्रष्ट पार्नुभयो । लोकतन्त्रमा सबैको अस्तित्व स्विकार्नु पर्नेमा जोड दिनुभयो । ‘अस्तित्व स्विकारेर निषेधको राजनीतिलाई अस्वीकार गरौँ’, ओलीले भन्नुभयो ।
अहिलेको राजनीति सहकार्यको राजनीति भएको उहाँले बताउनुभयो । नेपालमा ठुलो परिवर्तन भएको बताउँदै उहाँले ठुलो परिवर्तन पछिको राजनीति सहकार्य र सहअस्तित्वको राजनीति हुनु पर्ने प्रष्ट पार्नुभयो ।
अहिलेको गठबन्धन सरकार बनेपछि कुनै पनि खालको संवाद नभएको उहाँले बताउनुभयो । २०४६ सालको परिवर्तन पछि यस्तो खालको संवादहीनताको स्थिति अहिलेसम्म नभएको ओलीले बताउनुभयो ।
प्रधानमन्त्री बाहिर जाँदा प्रतिपक्षसँग मात्र होइन विज्ञसँग समेत सल्लाह गर्ने परम्परा रहेको ओलीले स्मरण गराउनुभयो । अहिले त्यो अवस्था समेत टुटेको उहाँले प्रष्ट पार्नुभयो ।
अहिले नेपालमा राष्ट्रियताको भावना अझ जागेको बताउँदै ओलीले कसैले चाहँदैमा राष्ट्रियता यता उता गर्न सक्ने अवस्था नरहेको दाबी गर्नुभयो ।
अन्तर्राष्ट्रिय सम्बन्धको मामलामा बाहिर एउटा र भित्र अर्को काम गर्ने हो भने फसिने उहाँले बताउनुभयो । त्यस्ता खालका कुराबाट जोगिनु पर्नेमा उहाँले जोड दिनुभयो ।


