काठमाडौं, १३ असार । नेकपा एकीकृत समावादीका सम्मानित नेता झलनाथ खनालले पाँच दलीय सत्ता गठबन्धन बनेदेखि राष्ट्रियतामाथि खतरा बढेको ठोकुवा गर्नुभएको छ । आफ्नै दल सहभागी गठबन्धन बनेको भए पनि राष्ट्रियतामाथिको खतरा बढेको निश्कर्ष खनालले सुनाउनु भएको हो ।
ललितपुरको स्टाफ कलेजमा आज आयोजित ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै खनालले मुलुकको राष्ट्रियतामाथि यो सत्ता गठबन्धन बनेदेखि खतरा बढेको बताउनु भयो । ‘सत्ता गठबन्धन बनाएपछि राष्ट्रियता बलियो बनाउँछौं जस्तो लागेको थियो । सुदृढ हुँदै जान्छ जस्तो लागेको थियो । तर पाँच दलीय गठबन्धनको सरकार बनेदेखि मैले हेर्दैछु, राष्ट्रियतामाथि झन झन खतरा बढेको देखिन्छ,’ खनालले भन्नुभयो ।
उहाँले उदाहरणको रुपमा राजदूत नियुक्ति, रुस–युक्रेन युद्धमा नेपालको वक्तव्य र एमसीसी ज्वलन्त उदाहरण भएको बताउनु भयो । ‘सरकार बन्नेवितिकै प्रधानमन्त्रीले पश्चिमा तीनवटा मुलुकको राजदूत नियुक्ति गर्नुभयो । चीन र जापानको गर्नुभएन,’ खनालले भन्नुभयो । चीन र भारत विश्कै शक्तिशाली राष्ट्र बन्दै गएको तर यो सरकारले एकपाटे नीति लिएको आरोप पनि खनालको छ ।
‘उत्तरतिरको शक्ति संसारको ठूलो शक्ति हुन्छ हुन्छ । कसैले रोक्न सक्दैन । दक्षिणतिरको शक्ति दोस्रो हुन्छ हुन्छ । हामी पहिलो र दोस्रोको बीचमा छौं । अहिलेका महाशक्ति भन्नेहरु त दोस्रोभन्दा मुनि झर्दैछन । अनि २१औं शताव्दीको पावर हाउसको बीचमा रहेर पराष्ट्र नीतिमा सन्तुलन कायम गर्न पर्दैन ? कुनै वक्तव्य जारी गर्नुअघि गठबन्धनमा छलफल चलाउनु पर्दैन?,’ सरकारप्रति आक्रोश पोख्दै खनालले भन्नुभयो ।
उहाँले एसपीपी रोक्न सफल भएकोमा नेताहरुलाई धन्यवाद दिनुभयो । ’एमसीसी अनुमोदन भए पनि हामीले एसपीपी रोक्यौं । नत्र अमेरिकी सेनाहरु हाम्रा हिमाल पहाडमा परेड खेल्थे । त्यसका लागि नेताहरुलाई धन्यवाद दिनैपर्छ,’ खनालको भनाई छ ।



















