काठमाडाैं,१५ असार । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस राेपाइँसँगै दही च्यूरा खाएर मनाइँदैछ । 'धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग' भन्ने मूल नारासाथ १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७९ मनाउन लागिएकाे हाे । काेभिडका कारण गत वर्ष खुलेर धान दिवस मनाउन नपाएका किसानले काेभिड संक्रमण कम भएसँगै याे वर्ष भव्य रुपमा दिवस मनाउँदैछन् ।
धान दिवसकाे अवसरमा ललितपुरकाे खुमलटारस्थित धानबाली अनुसन्धान केन्द्रमा औपचारिक रुपमा कार्यक्रम हुँदैछ । एमाले निकट किसान महासंघले भक्तपुरकाे सिरुटारमा कार्यक्रम राखेकाे छ ।
याे वर्ष मलबिनै राेपाइँ गर्न किसानहरु वाध्य छन् । सरकारले मल उपलब्ध गराउन नसक्दा किसानहरु मारमा परेका छन् । अाैपचारिक रुपमा धान राेपाइँ असार १५ मा सुरु हुने भएपनि केही ठाउँमा याे राेपाइँ सुरु भइसकेकाे छ । किसानहरु असारकाे सुरुअातदेखि नै राेपाइँमा रमाइरहेका छन् ।
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका असारे गीत गाएर खेतमै निक्कै रमाइलो गरिन्छ ।
कामको चटारोले थकित किसानले शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।
परापूर्वकालदेखि नै नेपाली समाजमा धानको आर्थिक, सामाजिक र सांस्कृतिक महत्व छ । नेपालमा २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।
नेपालमा करिब १५ लाख हेक्टर जमिनमा धान खेती हुन्छ ।


