काठमाडौं,१६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचित सिटमा केही कम परिणाम आए पनि एमाले सवैभन्दा बढी मत ल्याउने पहिलो पार्टी बनेको तथ्य राख्नुभएको छ । एमाले अध्यक्ष ओलीले एमालेलाई चुनावी परिणामबाट नभई पार्टीभित्र देखिएको प्रबृत्तिबारे चाँहि चिन्ता भएको पनि बताउनु भयो ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागको बैठकमा बोल्दै अध्यक्ष ओलीले देसी बिदेसी प्रतिक्रियावादी शक्तिहरु योजनावद्ध रुपमा एमालेबिरुद्ध लाग्दा पनि प्राप्त परिणामले अवको चुनाव एमालेको बहुमत आउँछ भन्ने प्रष्ट चित्र कोरेको बताउनु भयो ।

‘मतको आधारमा एमाले नै पहिलो पार्टी बनेको छ, कांग्रेस दोस्रो पार्टी बन्यो,’ बैठकमा अध्यक्ष ओलीको भनाई उधृत गर्दै प्रचार बिभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले भन्नुभयो, ‘एमालेलाई पत्तासाफ बनाउँछौं भन्दै दुनियाभरका प्रतिक्रियावादी शक्ति एकजुट भए, गठबन्धन बनाएर आए तर पनि एमालेले चुनाव जित्यो, यो तथ्य जनताले बुझ्लान भनेर प्रतिक्रियावादी र गठबन्धनका मान्छेहरु एमालेलाई हरायौं भनेर स्याल हुईयाँ मच्चाइरहेका छन ।’

बैठकमा अध्यक्ष ओलीले पार्टीभित्र डरलाग्दो प्रबृत्ति देखिएको भन्दै अवको चुनावअगावै त्यो प्रबृत्तिको उपचार खोज्नुपर्ने बताउनु भएको छ । बिभागका उपप्रमुख बिष्णु रिजालका अनुसार बैठकमा अध्यक्ष ओलीले चुनावमा पार्टीभित्र देखिएको प्रबृत्तिको चिरफारसमेत गर्नुभएको छ । ‘चुनावबाट एमाले नै पहिलो शक्ति हो भन्ने स्थापित भयो, यो तथ्य हो, सँगसँगै साह्रै खराव प्रबृत्ति पनि देखियो,’ बैठकमा ओलीको भनाई उधृत गर्दै उपप्रमुख रिजालले भन्नुभयो, ‘हामीलाई परिणामसँग होइन, प्रबृत्तिसँग चिन्ता छ ।’

बैठकमा अध्यक्ष ओलीले चुनावको समग्र पाटोको चर्चा गर्दै १५० पालिकाका प्रमुख पार्टीभित्रको अन्तर्घातका कारण गुमाउनु परेको तथ्य राख्नुभएको छ । ‘८० पालिकाको प्रमुख २ देखि ५ सयभन्दा कम मतअन्तरमा गुमाउनु पर्यो, अलिकति मेहनत गरेको भए जितिन्थ्यो,’ बैठकमा अध्यक्ष ओलीको भनाई थियो । ‘१५० सीट पार्टीभित्रकै बेइमानी, अन्तर्घातका कारण गुम्यो ।’

बैठकमा अध्यक्ष ओलीले यसपटकको चुनावमा प्रशासनिक धाँधलीले सीमा नाघेको बताउनु भयो । ‘प्रहरी प्रशासन यति धेरै दुरुपयोग गरियो कि २०१५ सालदेखि हालसम्मको चुनावमा यति धेरै दुरुपयोग कहिल्यै भएको थिएन,’ अध्यक्ष ओलीको भनाई थियो । अध्यक्ष ओलीले यसपटक एमालेबिरुद्ध लागेका शक्तिहरु एमालेको परिणाम देखेर अताल्लिएको पनि बताउनु भयो ।

उपप्रमुख रिजालका अनुसार आजको बैठकले स्थानीय तह निर्वाचनमा बिभागको तर्फबाट भएको कामको समीक्षा गर्नुका साथै आगामी कार्ययोजना पारित भएको छ ।