काठमाडौँ,१ साउन । उपसभामुख पुष्पा भुसालले आफ्नो कार्यकाल थोरै समयको भए पनि सदनलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाएकी छन् । सिंहदरबारस्थित कार्यकक्षमा पदवहाली गर्दै उनले जिम्मेवारी बढेको महसुस भएको प्रतिक्रिया दिइन् ।
सञ्चारकर्मीसँग भुसालले भनिन्, ‘मेरो कार्यकाल थोरै समय भएको भए पनि मैले मेरो जिम्मेवारी बढेको महसुस गरेकी छु । यो संविधान कार्यान्वयन गर्दा संविधानले उपसभामुखबाट गरेको अपेक्षा र भूमिका इमान्दारितापूर्वक मेरो आफ्नो काम कारबाही अघि बढाउने छु । र, सदनलाई पनि अत्यन्त प्रभावकारी ढंगले अघि बढाउनका लागि मेरो ३ महिना-४ महिना जति समय छ । मेरा लागि एकदमै महत्वपूर्ण रहनेछ र भूमिका पनि त्यसै अनुसार निर्वाह गर्नेछु ।’
आइतवार अपराह्न राष्ट्रपति निवास शीतल निवासमा आयोजित समारोहमा उपसभामुख भुसाललाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ खुवाएका थिए । उनी शुक्रवार उपसभामुख पदमा निर्वाचित भएकी थिइन् । पाँच दलीय गठबन्धनको साझा उम्मेदवारको रूपमा नेपाली कांग्रेसकी सांसद भुसाल उपसभामुख पदमा निर्वाचित भएकी हुन् । नेकपा एमालेकी विद्या भट्टराईलाई पराजित गर्दै उनी उपसभामुख पदमा निर्वाचित भएकी थिइन् । उनले प्रतिनिधिसभाका १ सय ४८ सांसदको समर्थन पाएकी थिइन् ।


