काठमाडौं,१ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सोचे भन्दा पनि राम्रो भएको बताएका छन् । तीन दिन लामो भारत भ्रमणबाट आइतवार साँझ स्वदेश फर्किएका प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू प्रधानमन्त्री भएजस्तै स्वागत सत्कार पाएको बताए ।

प्रचण्डले भने–यो भ्रमणलाई भारतमा निकै ठूलो उत्साह र महत्वका साथ हेरिएको रहेछ । यहाँ के चर्चा भयो थाहा छैन तर मैले चाहिँ सोचेको भन्दा राम्रो भयो भन्ने लागेको छ । विमानस्थलमा स्वागतदेखि होटलसम्म पुग्दा जुन स्वागत सत्कार र सुरक्षाको प्रवन्ध गरियो त्यो चाहिँ म प्रधानमन्त्री भएर गएको बेलाको भन्दा फरक लागेन ।

प्रचण्डले भारतमा आफूलाई निकै सत्कार भएको र नेतृत्वसँगको छलफलमा पनि नेपालको हितमा उल्लेख्य कुरा भएको बताए । उनले दूतावासले आयोजना गरेको भेटमा प्रधानमन्त्री पत्नी आरजु देउवासँग भएको भेटलाई अनावश्यक रुपमा कुरुप बनाएर चर्चा गरिएको भन्दै दुःख व्यक्त गरे ।

होटल जान हिँडिसकेपछि मोदीसँगको भेटवार्ता रद्द भयो, तर मलाई टेन्सन छैन

प्रचण्डले भारत भ्रमणका क्रममा अन्तिम समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट रद्द भएको र मोदीसँग भेट नभए पनि आफू तनावमा नरहेको उनले स्पष्ट पारे । त्रिभुवन विमानस्थलमा पत्रकारसँग प्रचण्डले भने, ‘हामीलाई त भेट हुन्छ नै भनिएको थियो । १ बजे भेट्ने कुरा थियो । १ बज्न लागेपछि हामी अलि हतार गरेर निस्कियौं । होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने खबर आयो ।’ किन सम्भव नभएको भन्ने आफूलाई थाहा नभएको प्रचण्डले बताए ।