काठमाडौं, ९ असार । अबैध हुन्डीबाट दैनिक करोडौं करोड रुपैयाँको कारोबार हुने गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले २०७६ असार २ मा नक्सालस्थित इसान इन्फोसिस प्रालिबाट हुन्डीको कारोबार गर्ने पुनमचन्द अग्रवाललाई पक्राउ गरेपछि यो तथ्य खुलासा भएको हो ।
पुनमचन्द दुगड संचालक रहेको इसान इन्फोसिस कम्प्युटर र कम्प्युटर पार्टसको कारोबार गर्ने कम्पनी हो । तर बाहिरी आवरण कम्प्युटर र त्यसका पार्टसको उल्लेख भए पनि भित्रभित्रै हुन्डीको कारोबार गर्ने गरेको सूचनाका आधारमा अपराध महाशाखाले निगरानी गर्दैआएको थियो । महाशाखाले उनलाई ३ लाख ५ हजार रुपैयाँ सहित पक्राउ गरेको छ ।
दुगडबाट ३ लाख ५० हजार रुपैयाँ हुन्डी कारोबारको रकम बरामद भएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिएका छन् । एसएसपी थापाका अनुसार सामाजिक संजाल भाइबर र ह्वाट्सऐपका माध्यमबाट हुन्डीको कारोबार हुने देखिएको छ । दुगडको ह्वाट्सएप तथा भाइबर चेक गर्दा ५० करोड रुपैयाँको हुन्डी कारोबार भएको देखिएको छ ।
अपराध महाशाखाले उनलाई असार ३ गते नै राजस्व अनुसन्धान विभागमा बुझाएको छ । हुन्डीबाट ३ लाख ५० हजार रुपैयाँ पठाउन लाग्दा उनी पक्राउ परे पनि भाइबर र ह्वाट्सएपमा उनले ५० करोडको कारोबार गरेको देखिएको छ ।
अवैध हुन्डी कारोबारमा दुगड जस्ता हाइलेभलका ब्यापारी पक्राउ परेका बिरलै घटना छन् । राजस्व अनुसन्धान विभागले भाइबर र ह्वाट्सएप जस्ता सामाजिक संजालबाट भएको हुन्डी कारोबारको विवरणलाई पनि प्रमाणका रुपमा राखी जिल्ला अदालतमा मुद्दा दायर गर्ने गरेको छ । यसअघि पनि सामाजिक संजालबाट भएको हुन्डी कारोबारको विवरण सहित मुद्दा दायर भएकाले दुगडको हकमा पनि लागु हुने एसएसपी थापाको भनाइ छ, आजको साँघु साप्ताहिकमा यो समाचार छ ।


