काठमाडौं,२१ माघ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कहिलेसम्म थेग्ने यकिन नभएको टिप्पणी गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठकलाई आज संबोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
“प्रचण्डलाई कहिलेसम्म थेग्ने होला थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने स्थिति बन्ला । तर, खटपट सुरु भइसकेको छ,” उनले बैठकमा भने, “तरल राजनीति कहिलेसम्म हो थाहा छैन ।” उनले माओवादीलाई ढुलमुले पार्टी भनेका छन् ।
अध्यक्ष नेपालले सत्ता गठबन्धनमा आएको समस्यालाई लक्षित गर्दै राष्ट्रपतिको निर्वाचनसम्म गठबन्धन अगाडि बढे पनि त्यसभन्दा पछाडि नरहने संकेत गरेका हुन् ।
संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलहरुको चरित्र र आफनो पार्टीको नियतसंगत व्यवहारबारे नेकपा एकीकृत समाजवादीले छलफल पनि थालेको छ ।
बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बारेमा व्याख्या गरेका छन् ।
नेकपा एसले एमालेलाई दक्षिणपन्थी र संविधानविरोधी पार्टीका रुपमा चित्रित गरेको छ भने भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रतिक्रियावादीको सेवक र दल भनेको छ।
त्यस्तै राप्रपालाई लम्पटहरुको दल भन्दै नेकपा एसले नेपाली कांग्रेसलाई संविधान र लोकतन्त्रप्रति प्रतिवद्ध रहेको दलको रुपमा व्याख्या गरेको छ ।
भने माओवादीलाई संविधान र लोकतन्त्रप्रति प्रतिवद्ध हुँदाहुँदै पनि सत्ताको लागि धुलमुल चरित्र देखाएको टिप्पणी गरेको छ ।




















