काठमाडौं,२६ माघ । प्रतिनिधिसभाको निर्वाचन सकिएलगत्तै (तत्कालीन सत्ता गठबन्धनमा) प्रधानमन्त्री भन्दा पनि राष्ट्रपति कसले पाउने भन्ने चासो चुलिएको थियो । अन्ततः प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति नहुँदा गठबन्धन नै भत्कियो ।
नेकपा एमालेसहितका दलसँगको नयाँ गठबन्धनमार्फत् नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनिसकेका छन् । राष्ट्रपति पद एमालेले पाएको छ । वाहलवाला राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिन केही समय मात्रै बाँकी छ । संविधानको धारा ६४ मा दुई कार्यकालभन्दा बढी एकै व्यक्ति राष्ट्रपति बन्न नपाउने व्यवस्था छ । राष्ट्रपति भण्डारी अब राष्ट्रपति बन्न नपाउने भएसँगै अब एमालेमा राष्ट्रपतिका दाबेदारको चर्चा सु्रु भएको छ ।
राष्ट्रपतिमा एमालेका तीन उपाध्यक्ष सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली र नेता अमृत बोहोराको नाम चर्चामा छ । एमालेले राष्ट्रपतिका विषयमा औपचारिक छलफल भने सुरु भएको छैन । अब बैठक बसेर छलफल गर्ने तयारी भइरहेको छ ।
सम्भावना कसको ?
चार नेताको चर्चा भए पनि एमाले नेताहरुका अनुसार राष्ट्रपतिमा नेम्वाङ र शाक्यको सम्भावाना बलियो छ ।
संविधानसभा अध्यक्ष नेम्वाङ र वाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यको दाबेदारी बलियो रहेको एमाले एक नेताले बताए ।
“पार्टीमा लामो समयदेखि योगदान दिइरहनुभएका नेताहरु युवराज ज्ञवाली र अमृत बोहोराको पनि चर्चा त छ । तर, सुवास नेम्वाङ र अष्टलक्ष्मी शाक्यको सम्भावना बलियो छ,” ती नेताले भने ।
तर नेम्वाङ र अष्टलक्ष्मीले केही बोलेका छैनन् ।
राष्ट्रपतिका दाबेदारहरु को कस्ता ?
सुवास नेम्वाङ
नेम्वाङ २०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य बनेका थिए । २०५१ सालमा न्याय कानुन तथा संसदीय राज्यमन्त्री बनेका नेम्वाङ कानुन मन्त्री बनेका थिए ।
उनी २०५६ सालमा प्रतिनिधि सभामा इलामबाट निर्वाचित भए । २०६३ सालमा पुनःस्थापित प्रतिनिधि सभाका सभामुख बनेका थिए ।
त्यसपछि उनी २०६४ मा इलामबाट निर्वाचित भए ।संविधानसभाको अध्यक्ष बने । २०७० सालको निर्वाचनमा समेत जितेका नेम्वाङ दोस्रो पटक पनि संविधानसभाका अध्यक्ष बने ।
एमालेको दशौं महाधिवेशनबाट उनी उपाध्यक्ष बने । मंसिर ४ गते भएको निर्वाचनमा उनी इलामबाट निर्वाचित भएका छन् ।
अष्टलक्ष्मी शाक्य
२०३६ मा भूमिगत राजनीतिमा सक्रिय बनेकी थिइन् । अखिल नेपाल महिला संघको अध्यक्ष समेत भएकी शाक्य निरन्तर रुपमा पार्टीमा सक्रिय महिला नेतृ हुन् ।
२०७४ सालमा भएको प्रदेशसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ ’क’ बाट शाक्य निर्वाचित भएकी हुन् । शाक्य मुख्यमन्त्री बन्ने सम्भावना भएपनि एमालेभित्रको गुट संघर्षको कारण अवसरबाट वञ्चित भइन् ।
प्रदेशको इन्चार्जसमेत रहेकी शाक्य केन्द्रीय सदस्य समेत नरहेका हेटौंडा नगरपालिकाका पूर्व मेयर डोरमणि पौडेलसँग संसदीय दलमा पराजित भइन् ।
नवौं महाधिवेशनमा माधवकुमार नेपाल समूहबाट एमाले उपाध्यक्ष जितेकी थिइन् । पार्टी विभाजनका बखत् तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालको साथ छाडेर एमालेमा नै रहिन् । त्यसपछि उनी मुख्यमन्त्री बनेकी थिइन् । १० औं महाधिवेशनबाट उपाध्यक्षमा दोहोरिएकी शाक्य छोटो समय वाग्मती प्रदेशको मुख्यमन्त्री बनिन् ।
मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा अध्यक्ष ओलीले काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्न आग्रह गरेका थिए । तर, उनले राजनीतिमा युवापुस्तालाई ल्याउनुपर्ने भन्दै उमेदवार बन्न अस्वीकार गरेकी थिइन् । अहिले उनी राष्ट्रपतिको उमेदवारको चर्चा भइरहेको छ ।
उनले अहिले त्यसबारे केही बोलेकी छैनन् । पार्टीमा छलफल नै नभएकाले पनि त्यसबारेमा नबोल्ने पक्षमा उनी छन् । “पार्टीमा केही छलफल भएको छैन । बाहिर चर्चा सुनेको छु । पार्टीमा छलफल नै नभइ बोल्ने कुरा हुँदैन,” उनले भनिन् ।




















