काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा अनेक शक्तिका नाममा आतंक मच्चाउनेहरु बढ्दै गएका छन् । केही दिनअघि राजधानीको भद्रकाली मन्दिर परिसरमा युवतीलाई यातना दिने ‘धर्तीमाता’ नामकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी परिसरको टोलीले शुक्रबार बिहान बालाजु क्षेत्रबाट पक्राउ गरेर हिरासतमा लिएको प्रहरीले बताएको छ । महानगरीय प्रहरी कार्यालयकी प्रवक्ता एसएसपी किरण बज्राचार्यले ती महिलालाई पक्राउ गरिएको पुष्टि गरिन् ।
उनलाई अहिले महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ । एसएसपी बज्राचार्यले यसअघि युवतीहरुमाथि काँटीले घोचेको अभियोगमा पक्राउ परेका सन्तोष कार्की र यी महिलालाई शुक्रबारै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने जानकारी दिइन् । धर्तीमाताले कयौँ मानिसको भीडको बीचमै एक युवतीलाई भूत लागेको भन्दै यातना दिएकी थिइन् । उनले यातना दिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । आफूलाई धर्तीमाता भनेर चिनाउने बुटवलकी विष्णु कुँवरलाई प्रहरीले यसअघि नै हाजिर हुन भनेको थियो । तर उनी उपस्थित नभएपछि प्रहरीलले खोजी थालेको थियो ।


