विराटनगर,१६ फागुन । नेकपा एमालेले मिसन ग्रासरुट अभियानलाई प्रदेश १ मा तीव्र रुपमा अघि बढाएको छ । प्रदेश १ का १४ वटा जिल्लामध्ये ११ जिल्लामा जिल्ला कमिटीको बैठक बसेर कार्ययोजना बनेको छ । मंगलबार र बुधबारसम्ममा १४ वटै जिल्लामा बैठक बसेर कार्ययोजना बन्ने नेकपा एमाले प्रदेश १ का इन्चार्ज राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
प्रदेश १ का १३७ पालिकालाई ५२ वटा केन्द्र बनाएर अभियान सुरु गरिएको छ । हरेक केन्द्रको नेतृत्व केन्द्रीय सदस्यले गरेको प्रदेशका सचिव चिन्तन पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकामा प्रदेश कमिटीबाट छुट्टै र जिल्ला कमिटीबाट पनि छुट्टै पार्टी नेताहरुको जिम्मेवारी तोकेर पठाइएको छ । पालिकाहरुमा बैठक, पार्टी प्रवेश र रचनात्मक कामहरुको सुरुवात भइसकेको बताउँदै उहाँले प्रदेश १ मा पार्टीलाई मजबुत बनाउने गरी अभियान चलाइएको बताउनुभयो । फाल्गुन ५ गतेबाट प्रदेशमा सुरु भएको मिसन ग्रासरुट बैशाख ९ गतेसम्म व्यापकरुपमा अघि बढ्ने छ ।
मोरङका १७ वटा पालिकामा नै मिसन ग्रासरुटको कार्यक्रम पुगिसकेको छ । एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले केन्द्रले खटाएको सबै नेताहरु जिल्लामा आइपुग्नुभएको बताउनुभयो ।
मोरङलाई ८ वटा केन्द्र बनाएर मिसन ग्रासरुट अभियान सुरु गरिएको छ । चार दिनअघि जिल्ला अभिमुखीकरण गरी अभिउान गाउँ पसेको पोखरेलले बताउनुभयो । उहाँका अनुसार मंगलबारसम्ममा सबै पालिका कमिटीको बैठक सम्पन्न हुनेछन् । प्रदेश १ को सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको मोरङमा अरु जिल्लाको तुलनामा रफ्तारमा अभियान गएको पोखरेलले बताउनुभयो ।




















