विराटचोक,२९ फागुन । स्वतन्त्र विधार्थी युनियनको निर्वाचन मिति नजिकिदै गर्दा मोरङको सुकुना बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले निर्वाचन समितिको कार्यालयमा ताला लगाएको छ । निर्वाचन समितिले विभेद गरेर पक्षपाती ढंगले अघि बढेको उनीहरुको आरोप छ ।
एमालेको अनेरास्ववियु र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको अन्तिम अक्षरमा ह्स्व र दिर्घ उकार मात्रै फरक रहेको र त्रिविको स्ववियु निर्वाचन निर्देशिकाले संगठनहरुले माग गरेमा पार्टीको साकेंतिकरण गर्न पाउने व्यवस्था अनुसार पटक–पटक माग गर्दा पनि वेवास्ता गरेको भन्दै कार्यालयमा तालाबन्दी गरेको अनेरास्ववियु सुकुनाका सचिव रविन भण्डारीले जानकारी दिए ।
अनेरास्ववियु (एमाले) को सांगठनिक नामबाट प्रत्यक्ष तर्फ ११ जना र समानुपातिक तर्फ १६ जनाको उम्मेदवारी मनोनयन पत्र दर्ता गराएर पार्टीसँग मिल्नेगरी सांकेतिकरण गरिपाउँ भनि अनेरास्ववियुले फागुन २५ गते निर्वाचन समितिसमक्ष निवेदन पेस गरेको थियो । तर, सोही दिन राति निर्वाचन आयोगले अनेरास्ववियुको माग बेवास्ता गर्दै उम्मेदवारहरुको नाम प्रकाशन गरेको थियो ।
अनेरास्ववियुका नेता मिलन घिमिरेले क्याम्पस प्रशासनले नियोजित ढगंले एक पक्षलाई पक्षपोषण गर्न फाल्गुन १७ गते प्रकाशन गर्नुपर्ने संगठन दर्ताको सूचना हालसम्म प्रकाशन नगरेको बताए ।
निर्वाचन समितिको गैरजिम्मेवार कार्यको अनेरास्ववियुले भर्त्सना गर्ने बताउँदै उनले दर्ता नै नभएको गठबन्धनलाई जबरजस्ती निर्वाचन समितिले स्थापित गर्न खोजेको आरोप लगाए ।




















